काठमाडौं : रुसी सेनामा गएकालाई स्वदेश फर्काउन सरकारले पहल सुरु गरेको छ । सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई अनुरोध गरेको हो ।
सरकारले रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल गरिरहेको जनाएको छ । सरकारले कसैको प्रलोभनमा नपरी, युद्धरत मुलुकको सेनामा भर्ना नहुन सार्वजनिक रुपमा आह्वान गरिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रयास गरिरहेको एउटा सार्वजनिक कार्यक्रममै बताएका थिए । उनले नेपालमै शिक्षा र रोजगारीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै युवालाई स्वदेशमा नै श्रम र पसिना बगाउन अपिल गरेका हुन् ।
सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएका बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा कन्सुलर सेवा विभागबाट ‘नो अब्जेक्सन लेटर’ लिएर मात्रै यात्रा गर्न सरकारले सबैमा अपिल समेत गरेको छ ।
हालसम्म रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्य भएको पुष्टी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, पोखराका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराज मोक्तानको मुत्यु भइसकेको छ । सरकारले दुई मुलुकबीच सम्झौता भएर अध्ययनका लागि छात्रवृत्तिमा जानेबाहेकका सम्पूर्णलाई रुस जान रोक लगाएको छ ।