दाङ (देउखुरी) : लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारीको समयमा बिदा दिने भएको छ । सो सम्बन्धी विधेयक नै प्रमाणीकरण भएपछि बिदा दिने बाटो खुलेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनको चरणमा प्रवेश गर्ने बताए । महिला अधिकारका कुरा सधैँ गरिँदै आएपनि उनीहरूलाई अधिकार दिने सवालमा व्यवहारिक रूपमा त्यो कार्यान्वयन हुनुपर्छ भन्ने उदेश्यले सबैको राय, सल्लाह र सुझावपछि महिनावारीको समयमा एक दिन बिदा दिनु उचित हुन्छ भन्ने लागेरै मुलुकमै पहिलो पटक लुम्बिनी प्रदेश सरकारले यो सुविधा दिने नीतिको सुरुवात गरेको उनले बताए ।
मुख्यमन्त्री चौधरीले भने, ‘यो महिलाको प्रजनन स्वास्थ्य तथा सरसफाइसंग जोडिएको विषय हो, महिनावारीको समयमा कतिपय महिलालाई बढी दुःख र पीडा हुन्छ, काम गर्न सक्ने अवस्था नहुन सक्छ, त्यतिखेर उनीहरुले एक दिन भएपनि आराम गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
महिनावारीको समयमा महिला कर्मचारीलाई बिदा दिने सम्बन्धी विधेयक पारित गरेकोले कार्यान्वयनमा जानेमा शंका गर्न नहुने उनको भनाई छ । तर, केही सांसदले भने प्रदेश सभामा उक्त विधेयकमा संशोधन प्रस्ताव राखेका थिए ।
महिनावारी (पिरियड्स) बिदा दिने व्यवस्थासहित प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश प्रमुख अमिक शेरचनले मंसिर २१ गते प्रमाणीकरण गरेका थिए । उक्त विधेयक भदौं २२ गते प्रदेश सभामा समक्ष पेश भएको थियो ।
सभामुख तुलराम घर्तीले करिव तीन महिनापछि त्यो विधेयक प्रदेश प्रमुख शेरचनकहाँ पठाएपछि प्रमाणीकरण भएको बताइएको छ ।