नेपालगन्ज : लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले प्रदेशले अहिले नै केही गर्न सकेनन् भन्न नमिल्ने बताएका छन् । ‘प्रदेशको संरचना नयाँ हो, केन्द्र भन्दा प्रदेश कमजोर छन, प्रदेशले अझै १० वर्ष केही गर्न सकेनन् भने औचित्यबारे प्रश्न गर्न सकिएला, तर अहिले नै प्रदेशले केही गर्न सकेन् भन्न मिल्दैन,’ प्रदेश सभा सचिवालयले नेपालगन्जमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने । सभामुख घर्तीले प्रदेशको औचित्य छैन भन्ने बेला अझै नभएको बताए ।
मुलुकभित्र प्रदेश नयाँ संरचना भएकाले अझै केही समय पर्खिनुपर्ने बताए । प्रदेश स्थापना भएको छोटो समयमै औचित्यबारे प्रश्न गर्नु जायज नभएको उनको भनाई छ । प्रदेश नयाँ संरचनामा रहेको बताउँदै थोरै कर्मचारीले पनि धेरै काम गर्नु परेको सभामुख घर्तीमगरले सुनाए ।
प्रदेशको संरचना भर्खरै जन्मेको शिशु जस्तै भएको सभामुख घर्तीले बताए । केन्द्रले नीति बनाउने र प्रदेशले काम गर्ने उनको भनाई छ । प्रदेश र स्थानीय सरकारबीच बजेटका कारण चिनजान भएपनि प्रदेश सभा र स्थानीय सरकारबीच चिनजान नभएको बताए । उनले भने, ‘कतिपयलाई त प्रदेश सभा छ र भन्ने कुराको पनि जानकारी नभएको बुझियो ।’
राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय स्तरका योजनालाई केन्द्र सरकारले हेर्ने गरेपनि १० लाखदेखी १० करोड रुपैयाँ सम्मका मध्यम खालका योजनालाई प्रदेशले हेर्ने गरेको बताए । ‘प्रदेशले जतिपनि डेलिभरी दिइरहेको छ, विकासका हिसाबले प्रदेशको पफमेन्स राम्रो छ,’ घर्तीले भने ।
मुलुकमा तीन तह सरकारको अभ्यास भइरहेको औल्याउँदै राजनीतिक अवरोध र अस्थिरताको कारणले गर्दा चाहे अनुसारको काम गर्न नसकिएको बताए । मुलुकमा संघिय शासन प्रणाली नेपाली समाजले चाहेको उनको भनाई छ । अर्को प्रसंगमा सभामुख घर्तीले प्रदेशले बनाएको कानुन केन्द्रले नबनाउँदा कार्यान्वयनमा समस्या आएको दुखेसो पोखे ।
लुम्बिनी प्रदेश सभाले अहिलेसम्म ७६ वटा कानुन बनाइसकेको जानकारी दिए । पत्रकार भेटघाटमा लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगर, सभामुख घर्तीको सचिवालयमा कार्यरत कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।