नेपालगन्ज : नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको सपथ लिइसकेपछि धेरैको मनमा उब्जिने प्रश्न हो, ‘नवनियुक्त मन्त्रीले आफ्नो पहिलो निर्णय के गर्लान् ?’ संघिय सरकारका नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ ले महत्वपुर्ण तीन वटा निर्णय गराएका छन् ।
उनले स्थानीय तहमा खेलकुद पुर्वाधार निर्माण सम्बन्धी निर्देशिका संशोधन गर्न समिति बनाउने निर्णय गराएका छन् । यस्तै महिला क्रिकेटको उद्गमस्थलको रुपमा रहेको बाँकेमा राष्ट्रिय महिला क्रिकेट एकेडेमी बनाउन सम्भाब्यता अध्ययन गर्ने निर्णय मन्त्री गहतराजले गराएका छन् ।
उक्त क्रिकेट एकेडेमी बाँके, क्षेत्र नम्बर १ अन्तर्गत पर्ने कोहलपुरमा बनाइनेछ । यसैगरी ३५ हजार युवालाई स्थानीय तहमा रोजगारी दिने सरकारको निर्णयलाई तत्कालन कार्यान्वयन गर्ने निर्णय भएको नवनियुक्त मन्त्री गहतराजले बताए । आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकास र खेलाडीको मनोवल उच्च बनाउने कार्यक्रम सञ्चालन गरिने उनले सुनाए ।
‘खेलकुद क्षेत्रको समग्र विकासका साथै खेलाडीको मनोवल उच्च बनाउने कार्यक्रम सञ्चालन गर्नेछु, युवामा आत्मविश्वास जगाउने, उनीहरुलाई राष्ट्र निर्माणमा सरिक गराउने कुरामा मेरो ध्यान जानेछ,’ शनिबार बिहान दूरसञ्चार डटकमसँग मन्त्री गहतराजले भने । मन्त्री गहतराजले गरेका पहिलो तीन निर्णयले खेलकुद र युवामा तरंग ल्याएको छ । ‘यो निर्णयले खुसीको सञ्चार ल्याएको छ, मन्त्री ज्युले गरेका यि पहिलो निर्णय मात्रै कार्यान्वयन गर्न सक्नु भयो भने उहाँ सफल हुनुहुनेछ,’ खेलकुदका एक पदाधिकारीले भने ।
बाँके क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सांसद रहेका गहतराज माओबादी केन्द्रका तर्फबाट शुक्रबार मन्त्री बनेका हुन् । उनी नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य पनि छन् ।
यो पनि पढ्नुस् :
‘जनयुद्ध’ मा कमाण्डरदेखी खेलकुद मन्त्रीसम्म
शुभकामना बडादसैँको - भिडियो