नेपालगन्ज : सेन्ट जेभियर्स स्कुलले प्रथम किशोरसिंह राठौर यु-१६ कप क्रिकेट आइतबार फराकिलो अन्तरले जित हासिल गरेको छ । नेपालगन्ज मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा सेन्ट जेभियर्सले ड्रिमल्याण्डलाई २ सय ६ रनले हरायो ।
पंकज केसीले प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गर्दै सतकको योगदान गरेपछि सेन्ट जेभियर्सले २० ओभरमा २ सय ३५ रन जोडन सफल भएको थियो । प्लेयर अफ द म्याच पंकजले १ सय २८ रन बनाए । पंकजले ७० बल खेल्दै १९ चौका र ५ छक्का प्रहार गरेका थिए ।
सेन्ट जेभियर्सका सन्जोक थापाले २७ रन, शंक्ति जंग शाहीले १३ र सुशान्त रानाले १० रन बनाए । ड्रिमल्यान्डका हेमन्त सार्की र आनन्द रावतले २-२ विकेट लिए । जवाफमा ड्रिमल्यान्डका खेलाडी ६.५ ओभरमा २९ रन बनाएर अलआउट भएका थिए ।
ड्रिमल्यान्डका कुनैपनि खेलाडीले दोहोरो स्कोर जोडन सकेनन । सेन्ट जेभियर्सका पंकज केसी, शंक्ति जंग शाही, बिपिन खनाल र कमलेश गुप्ताले २-२ विकेट लिए । ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन शनिबार संघीय सांसद एवम् नेपाली कांग्रेसका सह-महामन्त्री किशोर सिंह राठौरले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा बाँकेका १७ टिमले सहभागिता जनाएका छन् । आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याट्स म्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।