काठमाडौं : भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी एवं लेखक महेशबिक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीसहित दुई जनालाई दोषी ठहर गरेको हो । अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व सई दीपेन्द्रप्रसाद पनेरूलाई पनि दोषी ठहर गरेको छ ।
सिन्धुलीको दुधौलीस्थित मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्रमा कार्यरत रहँदा शाह र पनेरूले नक्कली कर्मचारीको नाममा तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
उनीमाथि ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो । अख्तियारले २०७६ फागुनमा गपूर्वडिआइजी शाह, पूर्व सई पनेरू, प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जिब विशुंखे विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तीमध्य ऐरी र विशुंखेले भने सफाई पाएका छन् । दोषी ठहर भइसकेका उनीहरुलाई सजया तोक्न भने बाँकी छ ।
सजाय निर्धारणको लागि पुस २५ गतेको अर्को पेशी तोकिएको अदालत प्रशासनले जनाएको छ । डीआईजी शाह २०४६ माघमा प्रहरी सेवा प्रवेश गरेका थिए । उनले २०७६ मा अवकाश पाएका थिए ।उनले जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुख भएर काम गरेका थिए ।
शाह मदन पुरस्कार बिजेता समेत हुन् । उनका कथा संग्रहरु ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र ‘भुइँखाट’ प्रकाशित छन् । ‘छापामारको छोरो’ कथा संग्रहका लागि उनले २०६३ मा मदन पुरस्कार पाएका थिए ।