नेपालगन्ज : बाँकेमा जारी 'प्रथम किशोर सिंह राठौर यु-१६ कप क्रिकेट प्रतियोगिता' को फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र मंगल प्रसाद उच्च माविले फाइनल प्रतिस्पर्धा गर्ने भएका छन् । स्थानीय मंगल प्रसाद उच्च माविको मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले नेपालगन्ज मोडेल एकेडेमीलाई ७ विकेटले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको हो ।
टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेलले १७.१ ओभरमा १ सय ५ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि विकास खनालले १५ रन, निश्चल पुन मगरले १३ रन र आयुश पुन मगरले ११ रन बनाए । नेपालगन्ज सेन्ट जेभियर्सका सम्यक थापाले ३ विकेट, राजिव साहु र बिपिन खनालले २-२ विकेट लिएका थिए ।
मिन्टु शर्मा र भुपाल रावलले अविजित रहँदै उत्कृष्ट ब्याटिङ गरेपछि १ सय ६ रनको विजयी लक्ष्य पाएको सेन्ट जेभियर्सले ११.३ ओभरमा ३ विकेटका नोक्सानीमा जित हासिल गरेको थियो । म्यान अफ द म्याच मिन्टु शर्माले अविजित ५० रन बनाए । उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए ।
सेन्ट जेभियर्सका अर्का ब्याटसम्यान भुपालले अविजित ३६ रनको योगदान गदै टोलीलाई जित दिलाउन महत्वपुर्ण भुमिका निर्वाह गरे । भुपालले ३० बलमा ६ चौका प्रहार गरेका थिए । नेपालगन्ज मोडेलका विवेक पुन मगरले २ विकेट र सुमित विष्टले १ विकेट लिए ।
सेमिफाइनल खेलमा म्यान अफ द म्याच घोषित भएका नेपालगन्ज सेन्ट जेभियर्सका मिन्टु शर्मालाई जयमंगलम सिमेन्टका सेल्स डिरेक्टर रिसब अग्रवालले पुरस्कृत गरे । ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमको सहभागिता रहेको छ ।
ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् । यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल छन् ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।