नेपालगन्ज : बाँके जिल्ला फुटबल संघको आयोजनामा माघ पहिलो सातादेखि मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता-२०८० हुने भएको छ । प्रतियोगिता माघ ६ देखि १३ गते सम्म नेपालगन्जमा हुनेछ ।
प्रतियोगितामा बाँके जिल्लामा रहेको ८ वटा स्थानीय तहरुको विद्यालयहरुको छात्र/छात्रा टिमहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता आयोजनामा नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ । प्रतियोगिता आयोजना बारे बुधबार नेपालगन्ज उपमहानगरपालिका र बाँके जिल्ला फुटबल संघबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखाका उपसचिव गोर्खबहादुर थापा र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले हस्ताक्षर गरे । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा करिव ४० विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले बताए ।
नेपालगन्ज उपमहानगरपालिकासँग सम्झौता भएलगत्तै प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढेको चन्दले जानकारी गराए । बाँके जिल्ला फुटलल संघले विगतका वर्षमा मेयर कपजिल्ला स्तरीय छात्र-छात्रा प्रतियोगिता आयोजना गर्दै आएको थियो ।
कोभिड-१९ का कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन् । माघको ७ गतेबाट सुरु हुने प्रतियोगिताले विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपालफुटलब संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । उनले भने, ‘हामी निकै उत्साहका साथ विद्यालय स्तरको मेयर कप प्रतियोगिता आयोजना गर्न लागिरहेका छौं, यसले बाँके जिल्लाको फुटबल विकासमा योगदान गर्नेछ ।
प्रतियोगितालाई भव्य बनाउने तयारी गरिरहेका छौं, मेयर कपले बाँकेको विकासमा नयाँ सम्भावनाको उजागार गर्नेछ ।’ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल टे«निङ सेन्टरमा प्रतियोगिताका खेलहरु हुनेछ ।
नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाक निर्माणको काम जारी रहेकोले प्रतियोगिता धम्बोझीमा गर्नु परेको बाँके जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिताको विजेता टिमले २१ हजार, उपविजेताले ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने संघले जनाएको छ ।