काठमाडौं : साताको चौथो कारोबार दिन बिहीबार सेयर मापन गर्ने नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा झरेको छ । बिहीबार दिनभरजसो नेप्से परिसूचक उतार चढावपूर्ण रह्यो ।
सुरुवाती चरणमा सामान्य अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुने बेला भने घटेको थियो । बिहीबार १२८ कम्पनीको सेयर घट्यो भने ११३ कम्पनीको सेयर बढ्यो । पाँच कम्पनीको सेयर भने स्थिर रह्यो । बिहीबार एक करोड ६० लाख ५२ हजार १ सय १ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ५८ करोड ११ लाख सात हजार ८ सय ४ रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्सेका तीनवटा सूचक घट्यो । सेन्सेटिभ सूचक ५.१२ अंकले घट्यो । फ्लोट सूचक पनि ०.४२ अंकले घट्यो भने सेन्सेटिभ फ्लोट सूचक पनि ०.८१ अंकले नै घट्यो । नेप्सेका १३ उपसूचकमध्ये बिहीबार ९ उपसूचक घट्यो भने चार उपसूचक बढ्यो । बिहीबार सबैभन्दा धेरै घट्ने उपसूचकमा जीवन बीमा तर्फको कम्पनी रह्यो ।
सो उपसूचक १३७.०८ अंकले घट्यो । त्यसैगरी निर्जीवन बीमा तर्फको उपसूचक पनि १०४.८८ अंकले घटेको छ । अन्यतर्फको उपसूचक पनि ५८.११ अंकले घट्यो । बिहीबार सबैभन्दा धेरै बढ्ने उपसूचकमा टे«डिङतर्फ रह्यो । सो उपसूचक ६६.९५ अंकले बढ्यो भने हाइड्रो पावरतर्फको उपसूचक पनि ४४.३३ अंकले बढ्यो । बिहीबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा दुई कम्पनी रह्यो ।
कालिका पावर कम्पनी र सिँगटी हाइड्रोपावर रहे । ती दुवै कम्पनीको सेयर १० प्रतिशतले बढ्यो । त्यसैगरी नेपाल वायर हाउस कम्पनीको सेयर ९.९९ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको सेयर पनि ९.९८ प्रतिशतले बढ्यो । बिहीबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा सिद्धार्थ प्रिमियम इन्सुरेन्स कम्पनी रह्यो ।
सो कम्पनीको सेयर ६.५६ प्रतिशत र मन्दाकिनी हाइड्रो पावर कम्पनीको सेयर ५.८० प्रतिशतले घट्यो । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ८.७५ अंकले बढेको थियो । सो दिन एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रुपैयाँको सेयर कारोबार भयो ।
सोमबार १५९ कम्पनीको सेयर घट्यो भने ७७ कम्पनीको सेयर बढ्यो । १० कम्पनीको सेयर स्थिर रहेको थियो । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से ३०.०५ अंकले घटेर २०३०.१० विन्दुमा झरेको थियो । सो दिन २०५ कम्पनीको सेयर घट्यो भने ३७ कम्पनीको सेयर बढ्यो ।
तीन कम्पनीको सेयर स्थिर रह्यो । मंगलबार एक करोड १८ लाख ८५ हजार सात सय १२ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोड ४६ लाख ५९ हजार नौ सय २२ रुपैयाँको कारोबार भयो । साताको तेस्रो कारोबार दिन बुधबार परिसूचक नेप्से २७.९० अंकले बढेर २०५८ विन्दुमा पुगेको थियो ।
सो दिन २०९ कम्पनीको सेयर बढ्यो भने ३० कम्पनीको सेयर घट्यो । ६ कम्पनीको सेयर स्थिर रह्यो । बुधबार एक करोड पाँच लाख चार सय ९८ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ रुपैयाँको सेयर कारोबार भएको छ ।