नेपालगन्ज : लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको जन्मोत्सवका अवसरमा विविध कार्यक्रम गरिदैछ । उनको जन्म सन् १८७९ जनवरी १३ मा भएको थियो ।
मेल्बिन जोन्सको १ सय ४५ औं जन्मोत्सवको अवसर पारेर लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन अन्तर्गत एरिया नम्बर ४ बाँके र बर्दियाका लायन्स क्लबको संयुक्त आयोजनामा सप्ताहव्यापी सामाजिक सेवाका कार्यक्रम गर्न लागिएको हो ।
लायन्सले काम गर्ने मुख्य ६ वटा क्षेत्र क्यान्सर, भोकमरी, वातावरण, दृष्टी, युवा, मानवियता तथा फेलोसिप र अन्य सामाजिक कार्यहरुलाई प्राथमिकतामा राखेर मेल्बिन जोन्स डे मनाउने कार्यक्रम रहेको छ ।
यही पुष २२ गतेदेखि २८ गतेसम्म गरिब र विपन्नलाई मध्येनजर गरेर महिलाको क्यान्सर सम्बन्धी परिक्षण, न्यानो कपडा वितरण, स्वास्थ्य शिविर (आँखा, कान, घाटी, मधुमेह, दन्त, एचआइभी), खाद्यान्न वितरण, शैक्षिक सामाग्री वितरण, सर्जिकल र औषधी वितरण, सरसफाई, रक्तदान, वृक्षारोपण, फेलोसिप आयोजना गरिनेछ ।
बाँके र बर्दियाका विभिन्न लायन्स क्लबहरुको आयोजनामा हुने उक्त कार्यक्रम पौष २२ गतेदेखि २८ गतेसम्म विभिन्न ठाउँहरुमा सञ्चालन हुने जानकारी दिइएको छ । लायन्स क्लब इन्टरनेशनल विश्वको सबै भन्दा ठूलो सामाजिक संस्था हो । सन् १९१७ सालमा लायन्सका संस्थापक मेल्बिन जोन्सले स्थापना गरेको लायन्स क्लब इन्टरनेशनलमा १४ लाख बढी सदस्यहरु आवद्ध रहेका छन् ।
लायन्स क्लब सन् १९७१ सालदेखि नेपालमा पनि क्रियाशिल रहेको छ । नेपालमा करिव ५० हजार सदस्यहरु लायन्स क्लब इन्टरनेशनलमा आबद्ध रहेको बताइएको छ ।