बाँके(राप्ती सोनारी) : नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले शनिबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा रहेको प्रशिद्ध भूवर भवानी मन्दिर परिसरमा पार्टीको पूर्ण बैठक तथा सरसफाई कार्यक्रम राख्यो । बैठकमा उपस्थित भएका र बोल्ने नेता तथा कार्यकर्ताको एउटै चिन्ता थियो, ‘गुटबन्दीले पार्टी सिद्धिने अवस्था आयो, गुटबन्दी त्यागेर नयाँ ढंगले अघि बढौं ।’
उपस्थित कार्यकर्ताको भावना अनुसार बोल्ने नेताहरुले पनि गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिए । तर, बोलेर मात्र नहुने भएकाले ब्यवहारमा देखाउनुपर्ने बताए । बोल्ने अधिकांस नेताले आजैका मितिदेखी भूवर भवानी मन्दिरलाई साक्षी राखेर गुटबन्दी त्याग्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथीका रुपमा उपस्थित भएका काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले गुटबन्दी त्याग्ने कुरा भाषणमा गरेर मात्रै नहुने बताए ।
भिडियो हेर्नुस् :
‘एकजुट भएर पार्टी बनाउने कुरामा कसैको दुईमत छ जस्तो मलाई लाग्दैन, भाषण गर्ने बेलामा गुट रहित भन्ने, कुरा ठुला-ठुला गर्ने,’ उनले भने ‘भूवर भवानी मन्दिरबाट तल गएपछि होईन, २०८४ मा त ठिक गर्नुपर्छ भन्ने हो भने यि बकमफुसे कुरा नगरौं, म अहिले नै भन्छु साथीहरुलाई ।’ आफुले धेरै पटक हेरिसकेको र बुझेको सभापति गौडेलले बताए ।
क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीले भूवर भवानी मन्दिरलाई साक्षी राखेर विगतका कमी कमजोरीलाई सच्याउँदै अगाडी बढ्नुको विकल्प नभएको बताए । उनले भने, ‘आफुले आफैलाई छातीमा हात राखेर भूवर भवानी मन्दिरतिर फर्केर सम्झियौं र मैले गरेका कमी कमजोरी के थिए सच्याएर अगाडी बढ्यौं भन्ने प्रण गर्यौं भने मलाई लाग्छ भोलीका दिनमा अझै नेपाली काँग्रेसको भविष्य छ ।’ जनता नेपाली काँग्रेसको माझमा र साथमा रहेको भन्दै सभापति केसीले गुटबन्दी त्यागेर नयाँ ढंगबाट सबै अगाडी बढ्नुपर्ने बताए ।
नेता युवराज पौडेलले कार्यकर्ताहरु पार्टीप्रति बफादार भएनन् वा पार्टी नेतृत्वले कार्यकर्ताको भावना अनुसार काम गर्न सकेन त्यसको समिक्षा आवश्यक रहेको बताए । चरम गुटबन्दीका कारण कतिपय कार्यकर्ताले पार्टी नै छाड्ने स्थिती आएकोतर्फ पार्टी नेतृत्वले बिचार पुर्याउनुपर्ने बताए । कतिपय राम्रा नेता, कार्यकर्ता गुटबन्दीकै भएको उनले सुनाए ।
नेपाली काँग्रेस राप्ती सोनारी गाउँपालिका सभापति भिम रानाक्षेत्रीले क्षेत्रीय कार्यसमितिले बनाएका समिति कत्तिको सक्रिय भए/भएनन् भन्नेबारे जिज्ञासा राख्दै सल्लाहकार समितिले दिएका सुझाव अनुसार अगाडी बढियो भने पार्टीको काम गर्न सहज हुने बताए । ‘समस्या जहाँ हुन्छ, त्यहाँबाट समाधान खोजियो भने सफल भइन्छ,’ रानाक्षेत्रीले भने । पवित्र भूमी भूवर भवानी मन्दिरबाट छुट्टिएर गएपछि पार्टीको काम गर्दा नेता, कार्यकर्तामा फरक अनुभुती हुने उनले विश्वास गरे ।
सो क्रममा बोल्ने कतिपयले पार्टीभित्र गलत गर्नेलाई कारबाही गर्नुपर्ने, तर फरक गुटकै कारण पुर्वाग्रही राखेर कारबाही गर्न नहुनेमा जोड दिए । खुल्ला छलफलमा बोल्ने सहभागीले पार्टीभित्र महिलालाई स्थान नदिइएको भन्दै गुनासो गरे । ‘पार्टीभित्र महिलालाई प्रयोग गर्ने काम मात्रै भयो,’ तारा ओलीले भनिन् ।
उक्त कार्यक्रममा निर्वतमान क्षेत्रीय सभापति माधवराम खत्री, पुर्वक्षेत्रीय सभापति कृष्णप्रसाद पौडेल, लुम्बिनी प्रदेश सांसद सञ्जुकुमारी चौधरी, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्यद्धय टेकनारायण भुसाल र रामबहादुर मल्ल, जिल्ला उपसभापति कृष्ण कार्की, राप्ती सोनारी गाउँपालिकाका पुर्वअध्यक्ष लाहुराम थारु, क्षेत्र नम्बर १ मा रहेका काँग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला, क्षेत्र, प्रदेश सभा, पालिका र वडा तहका पदाधिकारी तथा कार्यसमिति सदस्य, पुर्वपदाधिकारी लगायतको सहभागिता रहेको थियो । सो क्रममा क्षेत्रीय सचिव खुमबहादुर बस्नेत र कोषाध्यक्ष ध्रुव आचार्यले प्रतिवेदन प्रस्तुत गरेका थिए ।