नेपालगन्ज : लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी मंगलबारबाट नेपालगन्जमा सञ्चालनमा आएको छ । महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धन तथा बजारीकरणको लागि महिला उद्यमी संघ नेपाल बाँकेले प्रर्दशनी सञ्चालन गरेको हो ।
प्रर्दशनीलाई नेपालगन्ज उपमहानगरपालिका, महिला उद्यमी महासंघ नेपाल सहित विभिन्न सरकारी तथा निजी क्षेत्रले सहयोग गरेका छन् । उक्त प्रर्दशनीको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले उद्घाटन गरेका छन् ।
प्रर्दशनीलाई सम्बोधन गर्दै प्रमुख अतिथी मेयर विष्टले महिलाको उत्पादन मात्र नभएर बजारीकरण गर्नमा प्रर्दशनीले सहयोग गर्ने विश्वास गरे । प्रर्दशनी सञ्चालन गर्नका लागि उपमहानगरपालिकाले विगतदेखी गर्दै आएको सहयोगलाई निरन्तरता दिने उनले प्रतिवद्धता जनाए ।

महिलालाई राजनीति भन्दा पनि आधुनिक रुपले सम्मुनत गराउनका निम्ती आर्थिक रुपले सशक्तीकरण गर्न नसकिएको विष्टले बताए । ‘महिलालाई राजनीतिक रुपले संसद भवनमा मात्र पुर्याउने होईन, महिलालाई ब्यवसायमा प्रवद्र्धन गर्नका लागि उहाँहरुलाई सहुलियत ऋणदेखी लिएर उत्प्रेरणा दिने र बजारीकरणमा यदी सहयोग गर्न सक्यौं भने आर्थिक सशक्तीकरण गर्न सक्यौं भने महिलाहरु प्रति सम्मान हुन्छ,’ उनले भने ।
महासंघ अध्यक्ष ज्ञवालीले महिला उद्यमीलाई आर्थिक सशक्तीकरण गर्न महासंघ अहोरात्र लागिरहेको बताइन् । महिला उद्यमीलाई आर्थिक सशक्तीकरणको पाटोमा अगाडी बढाउने क्रममा चार वटा उद्देश्यलाई अंगालेर महासंघ अगाडी बढेको जानकारी दिइन् । ‘आज दिदी बहिनीलाई हेर्दाखेरी हामीले वकालत पनि साँच्चिकै गरेका रहेछौं, ब्यवसाय विकासलाई पनि प्रोत्साहन गरेर अगाडी बढेका रहेछौं,’ अध्यक्ष ज्ञवालीले भनिन् ।

महिला उद्यमीले अन्र्तराष्ट्रिय स्तरका सामान उत्पादन गरेपनि बजारीकरणमा समस्या भएको उनले सुनाइन् । ‘सामानहरु गुणस्तर बनिसके, सामानहरु अन्र्तराष्ट्रिय स्तरका बनिसके, यसको लागि अब हामीलाई औद्योगिकग्राम र बिक्री कक्ष चाहिएको छ,’ ज्ञवालीले भनिन् ‘हाम्रो घर–घरमा ब्यवसायी हुनुहुन्छ, घर–घरमा उद्यमी हुनुहुन्छ ।’ महिला उद्यमी महासंघले औद्योगिकग्राम स्थापना गर्नुपर्ने विषयमा लामो समयदेखी वकालत गर्दै आएको स्मरण गराउँदै उनले नेपाल सरकारले अहिले औद्योगिकग्राम बनाउने नीतिलाई अगाडी सारेको बताइन् ।

महासंघ कर्णाली प्रदेशका संयोजक शिला नेपालीले महिला उद्यमीले आफ्नो आत्मविश्वास बढाउन जरुरी रहेको बताइन् । प्रर्दशनीबाट महिला उद्यमीले धेरै कुरा सिक्न पाउने बताइन् । संघ नेपाल बाँकेका अध्यक्ष सावित्रा बस्नेतले प्रर्दशनीमार्फत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका महिला उद्यमीद्धारा उत्पादित बस्तुलाई प्रवद्र्धन गर्ने प्रयास गरिएको बताइन् ।
‘पहिला बाँके जिल्लाबाट सुरुवात गरेपनि २०७५ सालबाट लुम्बी प्रदेश स्तरिय प्रर्दशनी गरिरहेका छौं,’ उनले भनिन् ‘हामीले लुम्बिनी प्रदेशलाई मात्र नभएर अन्य जिल्लाका उद्यमी महिलालाई पनि यसमा समेट्नुपर्छ ।’ संघ बाँकेका प्रथम उपाध्यक्ष एवम् प्रर्दशनी संयोजक रेवती सिंहले स्थानीय उत्पादन र महिला उद्यमीले उत्पादन गरेका सामानहरुको प्रचार-प्रसार तथा प्रवद्र्धन र नयाँ पहिचान दिलाउने प्रयासका लागि प्रर्दशनी आयोजना गरिएको बताइन् ।
‘हाम्रो उद्धेश्य भनेकै महिला उद्यमीलाई आर्थिक विकास अभियानमा लगाउनु हो, महिला आर्थिक रुपमा सक्षम, सबल भए मात्र देशको आर्थिक अवस्था सुदृढ हुन्छ, त्यसैले देशको आर्थिक विकासमा साना–साना उद्यम र ब्यवसायको महत्व छ,’ उनले भनिन् ।

स्थानीय बागेश्वरी मन्दिरको पार्कमा सञ्चालित प्रर्दशनी यही पुस २८ गतेसम्म चल्नेछ । उक्त प्रर्दशनीमा महिला उद्यमीले स्थानीय स्तरमा उत्पादन गरेका ६५ भन्दा बढी स्टल राखिएको छ । प्रर्दशनीमा महिला उद्यमीले उत्पादन गरेका कृषिजन्य बस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, पत्थरबाट गर-गहना, कम्पोष्ट मल, होमस्टे प्रवद्र्धन लगायतका स्टल राखिएको छ ।
प्रर्दशनी उद्घाटन समारोहमा संघ बाँकेले महिला उद्यमीका क्षेत्रमा महत्वपुर्ण योगदान गरेकी महासंघ केन्द्रीय अध्यक्ष ज्ञवाली, तृतिय उपाध्यक्ष बासन्ती प्रधान, महासंघका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली लगायतलाई सम्मान गरेको थियो । सो क्रममा महासंघ केन्द्रीय अध्यक्ष ज्ञवालीले महिला उद्यमी संघ बाँकेलाई प्रर्दशनी सञ्चालनका लागि आफ्नो ब्यक्तिगत तर्फबाट नगद ५० हजार सहयोग हस्तान्तरण गरेकी थिइन् ।





