नेपालगन्ज : भेरी अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहयोग गर्ने निहुँमा पैसा असुल्ने बिचौलियाको बिगबिगी बढेको पाइएको छ । गाउँबाट आएका सोझा सिधा सर्बसाधारणलाई निःशुल्क उपचारको ब्यवस्था गरिदिने भन्दै बिचौलियाले उनीहरुबाट पैसा असुल्ने गरेको गुनासो बढेको हो । अस्पताल परिसरबाटै मंगलबार राँझा घर बताउने पदमे गहतराज रंगेहात पक्राउ परेपछि यसको पुष्टी भएको हो ।
भिडियो हेर्नुस् :
सासु बिरमी बुढाको उपचारका लागि भेरी अस्पताल नेपालगन्ज आएका दाङका अर्जुन सिजाली मगरको भेट दुई दिनअघि नेपालगन्ज राँझा घर बताउने पदमे गहतराजसँग भयो । गहतराजले अप्ठ्यारोमा परेका र आर्थिक रुपले कमजोर भएका बिरामीलाई आफुले अस्पतालमा बसेर निःशुल्क रुपमा उपचार कार्यमा सहयोग गर्दै आएको कुरा अर्जुनलाई बताए । त्यसपछि अर्जुनले गहतराजको सहयोग लिने मन्साय बनाए । अस्पताल प्रशासनसँग कुरा गरेर आफुले औषधी उपचार सबै निःशुल्क गराईदिने भन्दै गहतराजले अर्जुनसँग ९ हजार रुपैयाँ लिए । अर्जुनले जब पैसा दिए, त्यसपछि गहतराजको गतिविधि शंकास्पद देखियो ।
आफुले पैसा दिएको कुरा अर्जुनले अस्पतालका कर्मचारीलाई जानकारी गराए । त्यसपछि खुल्यो, वास्तविक रहस्य । अस्पतालका सुरक्षा गार्डले गहतराजलाई मंगलबार दिउँसो नियन्त्रणमा लिए । दैलेख, रानीवन स्थायी घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ राँझामा बस्दै आएका गहतराजले विगत ३ वर्षदेखी भेरी अस्पतालमा बसेर बिचौलियाको काम गर्दै आएको तथ्य खुल्यो ।
अस्पताल प्रशासनको फन्दामा परेपछि गहतराजले गल्ती स्वीकार गर्दै अर्जुनसँग लिएको पैसा फिर्ता गरे र अबदेखी अस्पतालमा आएर बिचौलियाको काम नगर्ने कुरा लिखित रुपमा प्रतिवद्धता जनाएर छुटेका छन् । अस्पताल परिसरमा भेटिएका पीडित अर्जुनले भने, ‘मेरो सासु आमाको हात भाँचिएको थियो, भेरी अस्पताल लिएर आएको थिए, उपचार काम सबै निःशुल्क गराईदिन्छु भनेर मसँग त्यो दाई (गहतराज) ले ९ हजार रुपैयाँ लिए, सबै निःशुल्क गराईदिन्छु, म यही अस्पतालमा खटिएको मान्छे हुँ भनेको हुँदा मैले ढुक्क भएर पैसा दिएँ, पैसा लिईसकेपछि जब मलाई शंका लाग्यो, त्यसपछि मैले जानकारी गराएको हुँ ।’
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. पवनजंग रायमाझीले अस्पताल परिसरमा बिरामीबाट पैसा असुल गरेको गुनासो सुनिदै आएको अवस्थामा अन्ततः बिचौलिया गहतराजलाई समात्न सफल भएको बताए । रायमाझीले भने, ‘बिरामीलाई निःशुल्क रुपमा सेवा, सुविधा दिलाउँछु भन्दै बिरामीलाई ललाई फकाई गरेर अस्पतालबाट लक्षित वर्गलाई दिने सुविधा बिरामीलाई उपलब्ध गराउने र त्यही बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराए वापत पैसा असुल्ने ब्यक्तीलाई पक्राउ गरेका हौं ।’
अस्पताल प्रशासनले केहीदिन देखी बिचौलियाको गतिविधिलाई नजिकबाट नियाल्दै आएको अवस्थामा फेला पारिएको डा. रायमाझीले सुनाए । गहतराज आफ्नो कार्यकक्षमा पटक पटक बिरामीको निःशुल्क उपचारका सिफारिस पत्र लिएर आउने गरेको स्मरण गरे । बिरामीका आफन्तबाट असुल गरिएको रकम गहतराजबाट फिर्ता गराइएको र अस्पताल परिसरमा अन्य बिचौलियाको पनि विशेष निगरानी बढाइएको उनले बताए ।
पक्राउ परेका गहतराजले आफुलाई नेकपा माओवादी केन्द्रले अस्पतालमा काम गर्न खटाएको बताए । ‘भेरी अस्पतालमा २/३ वर्षदेखी पार्टीबाट खटिएर काम गरेको हुँ,’ उनले भने । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सहसचिव समेत रहेका नेता अकलबहादुर बमले पैसा असुलेर काम गर्नु भनि आफ्नो पार्टीले कसैलाई पनि खटाउन नसक्ने बताए । बमले भने, ‘जनताको काममा सहजीकरण गरिदिन पार्टीले खटाउन सक्ला, तर कसैसँग पैसा लिएर काम गर्न हाम्रो पार्टीले खटाउन सक्दैन, बिचौलियाको काम गरेर पैसा असुल्ने ब्यक्ती हाम्रो कार्यकर्ता हुन सक्दैन ।’