नेपालगन्ज : कागजपत्र नभएका ‘अबैध’ इलेक्ट्रीक रिक्सा नष्ट गर्दा सबै प्रक्रिया पुरा गरेपनि डोजर नै प्रयोग गरेको तरिका बेठिक भएको उपमहानगरपालिकाले बताएको छ । उपहानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै इलेक्ट्रीक रिक्सा ब्यवस्थित गर्ने राम्रो नियत हुँदा-हुदै पनि नष्ट गर्ने तरिका बेठिक भएको बताएको हो ।
पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले भने, ‘नष्ट गर्ने प्रक्रियामा डोजर नलगाएर कुनै मेसिन वा कबार्डमा दिन सक्नुपथ्र्यो, नष्ट गर्ने तरिका बेठिक भयो भन्ने अहिले हामीलाई पनि लागेको छ, सबै नेपालगन्जबासीलाई पनि लागेको छ, यसप्रति हामी क्षमाप्रार्थी छौं ।’ उपमहानगरपालिकाले मंगलबार अबैध रिक्सा नष्ट गर्न भन्दै डोजर चलाएको थियो ।
मेयर विष्टले प्रक्रियागत कुरामा ठिक भएपनि डोजर प्रयोग गर्नु बेठिक भएको बताए । ‘रिक्सा तोड्दा तरिका गलत भयो, डोजर लगाएर आतंकित पार्ने जस्तो काम भयो, आगामी दिन हामीले आफुलाई सुधार गरेर जान्छौं,’ उनले थपे ।
भिडियो हेर्नुस् :
स्थानीय सरकार कार्य सञ्चालन ऐनले इलेक्ट्रीक रिक्सा ब्यवस्थापन गर्ने सम्बन्धमा स्थानीय पालिकालाई अधिकार दिएको भन्दै १५ दिने सूचना जारी गरेर ब्यवस्थापनको प्रक्रिया थालेको सुनाए । उपमहानगरपालिकाले ६ सय ३१ रिक्सा मध्ये ५ सय ५५ वटा रिक्साको कागजात ठिक भएपछि फिर्ता गरेको र बाँकी रिक्सालाई छानविन गरेर कागजात र चेसिस नभएका रिक्साहरु भएको बताए । त्यसमध्ये पनि २८ वटा रिक्सालाई नष्ट गर्नुको विकल्प नै नभएको उनले सुनाए ।
रिक्सा नष्ट गरेपनि सम्बन्धित रिक्सा धनीलाई बोलाएर सबैभन्दा महत्वपूर्ण मानिने ब्याट्री फिर्ता गरिएको मेयर विष्टले बताए । ‘कही कतैबाट बैधानिक नठहरिएपछि त्यसलाई नष्ट गर्नुपर्ने भयो, नष्ट गर्नुपर्ने प्रक्रिया भएका कारण सम्बन्धित व्यक्तिलाई ब्याट्री दियौंं ।’
उपमहानगरपालिकाले वर्षमा एक पटक प्रति रिक्साबाट १ हजार रुपैयाँ सूचीकृत शुल्क लिने गरेको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा मेयर विष्टसहित उपमेयर कमरुद्धिन राई र प्रवक्ता एवम वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजाल पनि उपस्थित थिए ।
उपमहानगरपालिकाले डोजर चलाएर नष्ट गरेपछि उक्त कदमको बिरोध गर्दै इलेक्ट्रीक रिक्सा ब्यवसायीले बुधबार दिनभर आन्दोलन गरेका थिए । इलेक्ट्रीक रिक्सा ब्यवसायी संघ बाँकेको अगुवाईमा बुधबार उपमहानगरपालिका कार्यालय घेराउ गरेका थिए । ठुलो संख्यामा रिक्साहरु सडकमा तेर्साएर व्यवसायीले बिहान ११ः३० बजेदेखी बेलुकासम्म उपमहानगरपालिका कार्यालयको मुलगेटमा नाराबाजी गरे ।