बाँके (नरैनापुर) : लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले चालु आर्थिक वर्षभित्रै अप्रेशन सहितको प्रसुती सेवा बिस्तार गर्न निर्देशन दिएका छन् । नरैनापुर गाउँपालिकाको आधारभुत अस्पतालमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेवा प्रदानको काम तत्काल गर्न नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहलाई आग्रह गरे ।
बाँके जिल्लाको दुर्गम गाउँपालिका भएको र नेपालगन्जबाट ४० किलोमिटर दुरीमा रहेका कारण जटिल प्रकारका प्रसुतीलाई आधारभुत अस्पताल मै सेवा दिनुपर्ने उनले बताए । सेवा विस्तारका लागि प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरिएको र थप रकम नरैनापुर स्थानीय तहको सहयोग तथा सहकार्यमा सेवा प्रदानका लागी औजार उपकरण तथा दक्ष जनशक्तीको ब्यवस्था तत्काल गर्नुपर्ने बताए ।
सोही कार्यक्रममा लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले नरैनापुर क्षेत्रको विकासमा आफु दिनरात लागिपरेको बताइन् । नरैनापुरको आधारभुत अस्पतालमा शल्यक्रिया सहितको बृहत प्रसुती सेवा विस्तारका लागी आफुले प्रदेश सरकारको तर्फबाट सबै सहयोग तथा बजेट तथा कार्यक्रम थप गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
उक्त कार्यक्रममा प्रदेश सभाका सांसद सञ्जुकुमारी चौधरी, माया पुन, सुशिला नेपाली, मिना सिद्धिकी, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थी, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरी, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल, नरैनापुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष ईशाक जोलाहा,नरैनापुर ४ का वडाअध्यक्ष मनोज शर्मा, वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नम्बर ६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्य, जिन्सी शाखा प्रमुख भरतकुमार महत्तो लगायतको उपस्थिती रहेको थियो ।