बाँके(राप्ती सोनारी) : सिकलसेल थालेसिमिया, हेमोफिलियाका बिरामीका लागि राप्ती सोनारी गाउँपालिकामा बीमा कार्यक्रम शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम राप्ती सोनारीमा शुभारम्भ गरिएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उक्त कार्यक्रमको बुधबार गाउँपालिका कार्यालयमा औपचारिक रुपमा शुभारम्भ गरेका हुन् । गाउँपालिकामा निदान भएका ३३ जना बिरामीका लागि बीमा कागज बिरामीलाई हस्तान्तरण गरेर उक्त कार्यक्रम शुभारम्भ गरिएको थियो ।
सो क्रममा मन्त्री खनालले सिकलसेल लगायतका हाल बढ्दो प्रकोपमा रहेका नसर्ने रोग नियन्त्रण, रोकथाम तथा उपचार ब्यवस्थापनमा सेवाको पहुँच नपुगेका नागरिकलाई सेवाको पहुँचमा पुर्याउन आधारभुत लगायत विशिष्टकृत सेवालाई सर्बसुलभ बनाउन प्रदेश सरकार लागि परेको बताए ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले ९ वटै वडाका थारु समुदायका सबै ब्यक्तिको सिकलसेल जाँच गर्ने योजना रहेकाले त्यसका लागी प्रदेश सरकारले बजेट तथा कार्यक्रममा सहयोग गरि रगत जाँच, उपचार तथा बीमा कार्यक्रममा सहयोग गर्न आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा प्रदेश सभाका सांसद सञ्जुकुमारी चौधरी, माया पुन, सुशिला नेपाली, मिना सिद्दिकी, गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, भेरी अस्पताल बिकास समिती अध्यक्ष बीरेन्द्र शाह, स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थी, स्वास्थ्य निर्देशनालय निर्देशक डा. बिनोद कुमार गिरी, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, राप्ती सोनारी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ४ का वडाअध्यक्ष मिनराज खड्का, स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच बुधबार नै मन्त्री खनालले निर्माणाधिन राप्ती सोनारी अस्पताल भवनको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी नमुनाको पनि उपस्थिती रहेको थियो ।