कोहलपुर : कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले उपप्रमुख जस्तो गरिमामय पदमा बसिरहँदा स्वाभिमान गुमेको जस्तो महसुस भइरहेको बताएकी छन् । उनले भनिन्, ‘लोकप्रिय मत ल्याएर जितेपनि पटक–पटक आफ्नो स्वाभिमान गुमेको जस्तो महसुस भयो ।’
आफुलाई नगरपालिकाबाट सञ्चालन हुने योजनामा सहभागिता नगराइएको भन्दै उपप्रमुख सुवेदीले आक्रोश समेत पोखेकी छन् । 'स्थानीय सरकार कार्यसञ्चालन ऐन-२०७४' ले प्रमुखलाई जत्तिकै अधिकार उप-प्रमुखलाई पनि दिएको छ ।
स्थानीय सरकारको कानुनले उपप्रमुखलाई महत्वपूर्ण जिम्मेवारी दिइरहेका बेला उप-प्रमुख सुवेदीले भने आफुलाई नगरका योजनामा सहभागिता नगराइएको र समन्वय तथा सहकार्य नगरिएको भनि गम्भिर खुलासा गरेकी हुन् । कोहलपुर जस्तो नगरपालिकाको १४ औं नगर सभामै बोल्ने क्रममा उप-प्रमुख सुवेदीले यस्तो अभिव्यक्ति दिएपछि सभाका सदस्यहरु नै आश्चर्य चकित परे ।
कतिपय स्थानीय तहमा राजनीति प्रतिशोधका कारण प्रमुख र उप-प्रमुख बीच सम्बन्ध चिसीएको देखिन्छ । कतिपय स्थानीय तहमा फरक पार्टीका भएपनि विवाद बाहिर आइपुगेको हुँदैन । तर, कोहलपुरमा भने एउटै पार्टी काँग्रेसबाट जितेका प्रमुख र उपप्रमुख बीचको विवाद अहिले नगर सभासम्म आएर छताछुल्ल भयो ।
‘मैले यो सभामा विवरण पेश गर्दैै गर्दा नगर उपप्रमुखलाई नगरबाट हुने सम्पूर्ण योजनामा सहभागिता गराउनुपर्छ कि पर्दैन ? उपप्रमुखसंँग समन्वय र सहकार्य गर्नुपर्छ कि पर्दैन ? म यो उत्तर खोज्न चाहन्छु, आदरणीय नगर प्रमुख ज्युँसँग,’ उनले भनिन् ‘पटक-पटक समन्वय गर्न खोज्दा पनि मेयर साबले तपाईलाई सिमित अधिकार छ, समन्वय समिति, त्यसैगरी अनुगमन समिति बाहेक अन्य तपाईको अधिकार क्षेत्रभित्र होईन भन्ने जस्ता गैर जिम्मेवारी उत्तर दिनुभयो यो कहाँसम्म जायज हो ?’ कानुन निर्माण गर्दा पनि आफुलाई कुनै जानकारी नदिइएको गुनासो गरेकी छन् । नगर प्रमुख पूर्णप्रसाद आचार्यले भने आफुले उपप्रमुख सुवेदीसँग समन्वय गरेर काम गरिरहेको दाबी गरेका छन् ।