नेपालगन्ज : प्रतिनिधि सभाका सांसद एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले जाजरकोटका भूकम्प पीडित महिलाका लागि सामाग्री हस्तान्तरण गरेकी छन् । विनाशकारी भूकम्पबाट पीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई ‘डिग्निटी किट’ एवम् पौष्टिक तथा पोषिलो आहार सहितको झोला हस्तान्तरण गरेकी हुन् ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङलाई नेपालगन्जमा शुक्रबार उक्त सामाग्री हस्तान्तरण गरिन् । हस्तान्तरण गरिएको सामाग्रीमा ज्याकेट तथा टाउजर, उलनको मोजा, उलनको टोपी, स्यानिटरी प्याड, बच्चाको ब्ल्यांकेट, बच्चाको कपडा, म्याक्सी, कटनको तौलिया, भित्री बस्त्र, ब्रस, मञ्जन, नेल कटर, काइँयो, सरफ, सेम्पु, नुहाउने र लुगाधुने साबुन, पोषणयुक्त खानेकुरा रहेका छन् ।
‘डिग्निटी किट’ एवम् पौष्टिक तथा पोषिलो आहारसहितको झोलासहित १ हजार थान राहत सामाग्री, १८ प्रकारका सामाग्री भएको किट ५ सय थान र १५ प्रकारका सामाग्री भएको किट ५ सय थान रहेको छ । उक्त सामाग्री करिव ४० लाख मुल्य बराबर रहेको डा. राणाको सचिवालयले जनाएको छ ।
हस्तान्तरण गरिएको सामाग्री जाजरकोटमा लगेर वितरण गर्ने तरुण दलको योजना छ । उक्त सामाग्री सहयो गर्नेमा ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाडौं, सुरक्षित मातृत्व सञ्जाल महासंघ, डा. आरजु राणा देउवाको सचिवालय, पपुलेसन कनेक्सन अमेरिका, नेपाल स्वास्थ्य फुड इन्डष्ट्रिज प्रा.लि. मोरङ र हिमालयन रि इन्स्योरेन्स प्रा.लि. रहेका छन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी, लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री सरोज थापा, प्रदेश सांसदहरु बादसा कुर्मी, माया पुन र मिना सिद्धिकी, तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र शाह, तरुण दल नेपालगन्ज उपमहानगर अध्यक्ष संदिपजंग शाह, पार्टीका नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।