नेपालगन्ज : नेपाली काँग्रेस नेतृ डा. आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक रुपले हेर्न नहुने बताएकी छन् । जाजरकोटको विनाशकारी भूकम्पबाट पीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई ‘डिग्निटी किट’ एवम् पौष्टिक तथा पोषिलो आहार सहितको झोला हस्तान्तरण कार्यक्रमलाई शुक्रबार नेपालगन्जमा सम्बोधन गर्दै प्रतिनिधि सभाका सांसद एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहेकी डा. राणाले यस्तो बताएकी हुन् ।
कार्यक्रममा उनले भनिन्, ‘यो सामाजिक सेवा हो, पार्टीगत कुरा हुदैन, यसमा राजनीति छैन, जसलाई पर्छ, त्यसलाई गर्ने हो, तरुण दलले जागरकोट पुगेर घर बनाउने काम गर्यो, तरुण दलप्रति हामीलाई विश्वास लागेर यो सामाग्री पनि उसैले बाँड्का लागि हस्तान्तरण गरिएको हो ।’
विपदका बेला नागरिकलाई सहयोग गर्नु ठुलो कुरा नभएर दायित्व पनि भएको उनको भनाई छ । ‘सामाजिक कार्यकर्ता भएको नाताले पहिले देखी सहयोग गर्दै आएको हो, जाजरकोटका भूकम्प पीडितलाई धेरै गाह्रो भएको अवस्था छ, गर्भवती, सुत्केरी महिलालाई धेरै गाह्रो छ भन्ने जानकारी आएपछि तत्काल हामी के गर्न सक्छौं भनेर यो सहयोग गरेका हौं,’ राणाले भनिन् ।
तरुण दलले जाजरकोटसम्म सामाग्री पुर्याएर भूकम्प पीडितको हात हातमा वितरण गर्ने उनको विश्वास छ । ‘हामी यो सबै सामाग्री जाजरकोटसम्म पुर्याउँछौं, कति घर धुरीले पायो भन्ने रिपोर्ट तरुण दलले हामीलाई बुझाउनु हुन्छ, हाम्रो पार्टी नेपाली काँग्रेसलाई पनि रिपोर्ट बुझाउनु हुन्छ,’ डा. राणाले थपिन् । भूकम्पबाट प्रभावित बालबालिकाको शिक्षा, दिक्षाको लागि पनि वडाको सिफारिस अनुसार सहयोग गर्न सकिने बताएकी छन् ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष गुरुङले आफुहरु भूकम्प पश्चात जाजरकोट पुगेर अस्थायी टहरा निर्माण गरी फर्केको र भूकम्प पीडितको अवस्था अत्यन्त दयनीय रहेको बताए । ‘त्रिपालमुनि बसेका ७२ परिवारलाई हामीले १० दिन भित्र अस्थायी टहरामा सार्न सफल भयौं,’ उनले भने ‘यो सामाग्री हामी जाजरकोटका पीडितको हातमा पुर्याउँछौं ।’
तरुण दलले जनताको घर दैलोमा पुरानो ढगले अब काम नगर्ने बताए । गुरुङले भने, ‘हामी भाषण मात्रै गर्दैनौं, प्रत्यक्ष रुपमा जनताको मन छुने कार्यक्रम लिएर नेपाल तरुण दल आउनेछ ।’