कोहलपुर : दाङको भालुबाङमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका मध्ये १२ जनाको कोहलपुरमा उपचार चलिरहेको छ ।
दाङको भालुबाङमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका मध्ये १२ जनाको कोहलपुरमा उपचार चलिरहेको छ । घाइते १३ जनालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएकोमा एक जना डिस्चार्ज भएका हुन्।
बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्केका छन् । उपचार गराइरहेका घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिएका छन ।
घाइते मध्ये कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर रहेको उनले बताएका छन । इप्रका कोहलपुरका अनुसार नेपालगन्जका २४ वर्षीय अशुतोष गौतम, २० वर्षीय निरन्जन कोरी, २० वर्षकै अरवाज नाउ, बर्दियाका २२ वर्षीय राजीव थारु, बाँकेका १९ वर्षीय नफिच खान, भारतका २० वर्षका छोटी सिलौरा, बाँकेकै दशरथ बि.क., बाँके राप्ती सोनारीका ३१ वर्षका कुलबहादुर गोसाई, नेपालगन्जकी ३५ वर्षीया लिला वली, बाँकेकै २१ वर्षीय शंकर थारु र रावलकुमार यादवको अवस्था सामान्य छ।
नेपालगन्जदेखि काठमाडौ जाँदै गरेको बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ।