नेपालगन्ज : शुभ सन्देश सभा नेटवर्क नेपाल (ज्ञान नेपाल) ले चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा ६ सय ६७ जनालाई सूचना तथा परामर्श सेवा प्रवाह गरेको छ । जसमध्ये २ जना महिलालाई साथी संस्थामा उद्धार गरी पठाइएको छ ।
बाँकेको नेपालगन्जस्थित जमुनाहामा मानव ओसार पसार तथा बेचविखन विरुद्ध जनचेतनाका लागि सूचना, निगरानी तथा परामर्श बुथ सञ्चालन गरेर उक्त सेवा प्रवाह गरेको हो । नेपालगन्जमा शनिबार वार्षिक कार्यक्रमको प्रगति प्रस्तुत तथा अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।
उक्त संस्थाका उपाध्यक्ष डक्टप्रसाद धितालले आफ्नो संस्थाले गरेको कामहरुबारे जानकारी दिएका हुन् । यसअघि आर्थिक वर्ष २०७९/०८० मा संस्थाले १ हजार ७ सय ७३ जनालाई सूचना तथा परामर्श प्रवाह गरेको छ । जसमध्ये १४४ जना (९१ महिला र ५३ जना पुरुष) लाई परामर्श पश्चात घर फकाइएको छ । यस्तै ३ जनालाई शक्ति समुहको सेल्टर होममा पठाइएको जानकारी दिइएको छ ।
संस्थाले समाज परिवर्तनका लागि विभिन्न सामुदायिक सचेतनामूलक कार्यक्रम गर्न रेडियो मर्निङ स्टार, गुडन्यूज खबर डटकम र गुडन्युज साप्ताहिक सञ्चालन, शैक्षिक सहयोग स्वरुप छात्रबृत्ति कार्यक्रम, आय आर्जनमुखी कार्यक्रम सञ्चालन, खानेपानी कार्यक्रम सञ्चालन, दुष्टिविहिन तथा विपन्न विद्यार्थीहरुलाई होस्टेल सहित शैक्षिक सहयोग जस्ता कार्यक्रम गरेको छ ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सेना, नेपाल पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष संगिन शर्मा लगायतले बोलेका थिए ।