नेपालगन्ज : नेपालगन्जमा सञ्चालित लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी शनिबार समापन भएको छ । नेपालगन्ज उपमहानगरपालिका, महिला उद्यमी महासंघ नेपाल लगायत निकायको सहयोगमा महिला उद्यमी संघ बाँकेले उक्त प्रर्दशनी मंगलबारबाट सुरु गरेको थियो ।
महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धन तथा बजारीकरणको लागि बागेश्वरी मन्दिरको पार्कमा सञ्चालन गरिएको थियो । उक्त प्रर्दशनीमा महिला उद्यमीले स्थानीय स्तरमा उत्पादन गरेका कृषिजन्य बस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, पत्थरबाट गरगहना, कम्पोष्ट मल, होमस्टे प्रवर्द्धन लगायतका स्टल राखिएको थियो ।
प्रर्दशनीमा ६५ स्टल बुक भएपनि ६१ वटा राखिएको थियो । पाँच दिनसम्म सञ्चालन भएको प्रर्दशनीमा १५ लाख बढीको कारोबार भएको संघ बाँकेका अध्यक्ष सावित्रा बस्नेतले जानकारी दिइन् । दैनिक रुपमा सरदर ३ लाख रुपैयाँका हिसाबले कारोबार भएको उनले बताइन् । ‘प्रर्दशनीमा के कति कारोबार भयो, यसको वास्तविकता सार्वजनिक गर्छौ,’ उनले भनिन् ‘कारोबार रामै्र भएको मान्नुपर्छ ।’
भिडियो हेर्नुस् :
प्रर्दशनीमा रोल्पाली महिला उद्यमीले ल्याएका सामानको माग बढेको पाइएको छ । रोल्पाली सिमी, भांगो लगायत खाद्यान्न सामाग्री अत्यधिक रुपमा बिक्री भएको छ । यस्तै महिला उद्यमी ऋचा लुईटेलले सञ्चालन गरेको गरगहनाको ब्यवसायले पनि ग्राहकको मन जितेको छ ।
यसैगरी गाँजाबाट उत्पादन गरिएका टोपी, अल्लोको टोपी, कोट लगायत विभिन्न कपडाले पनि बजार पाएको छ । प्रर्दशनी स्थलमा महिला उद्यमीले पकाएका सेलरोटी, थारु महिलाले पकाएको ढिंक्री पनि अत्यधिक रुपमा बिक्री भएको छ ।
महिला उद्यमी संघले स्टल निःशुल्क रुपमा उपलब्ध गराएको थियो, भने बाहिरबाट आउने महिला उद्यमीलाई यातायात भाडा तथा नेपालगन्जमा बस्ने र खाने सुबिधा उपलब्ध गराएको थियो ।