बाँके (बैजनाथ) : थारु समुदायको महान पर्व माघीको अवसरमा सोमबार ‘माघी मिलन कार्यक्रम-२०८०’ गरिएको छ । थारु साँस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ-५ छमनियाँ बाँकेको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
केन्द्रका अध्यक्ष सिताराम थारुको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बैजनाथ सरकार थारु समुदायको हक अधिकारका लागि प्रतिवद्ध रहेको बताए । प्रजातन्त्र प्राप्तिका लागि लडेका स्वर्गिय बैजनाथ थारुको सम्मानका लागि गाउँपालिकाले थारु संग्रहालय निर्माण गर्ने बताए ।
आफ्नो कार्यकालभित्रै गाउँपालिकामा थारु संग्रहालय निर्माण गरेर त्यहाँ थारु कला, सँस्कृतिका साथै स्वर्गिय बैजनाथ थारुको जीवनीबारे जानकारी मूलक कुराहरु राखिने प्रष्ट्याए । ‘थारु संग्रहालय निर्माण गर्नका लागि मैले जुन कुराको प्रतिवद्धता जनामएको छु, त्यो म आफ्नो कार्यकालभित्र पुरा गर्छु,’ अध्यक्ष शाहीले भने ।
यस्तै नागरिक उन्मुक्ती पार्टीका जिल्ला संयोजक चन्तराम थारुले मुलुकमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लडाईमा थारु समुदायको योगदान रहेको बताए । नयाँ वर्षका रुपमा रहेको माघी पर्व थारु समुदायको पौराणिक सँस्कृतीसँग जोडिएको विशेष पर्व पनि भएको उनले औल्याए ।
नेपाली काँग्रेस बाँकेका जिल्ला सहसचिव एवम् थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले माघी पर्व सद्भावसँग जोडिएको विशेष पर्व भएको बताए । ‘बहु साँस्कृतिक र बहुधार्मिक विविधता भएको देशमा थारु समुदायको माघी पर्वको छुट्टै खालको विशेषता छ, आजकै दिनदेखी हाम्रो नयाँ वर्ष सुरु हुन्छ, यो दिनमा हामी नयाँ कामको थालनी गर्छौ,’ उनले भने ।
सो क्रममा बैजनाथ गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष भुपाल पुनमगर, वडाअध्यक्ष नम्बर ७ का वडाअध्यक्ष दिनेशकुमार थारु, थारु समुदायका अगुवा, बुद्धिजिवी, बड्घर लगायतको उपस्थिती रहेको थियो । दुई दिनसम्म चल्ने कार्यक्रममा बैजनाथका ३१ वटा गाउँका बड्घरले ल्याएका थारु मौलिक नाँच प्रस्तुत गरिने आयोजकले जनाएको छ ।