काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ । जसका कारण अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।
तराई भू-भागमा भने हुस्सु, कुहिरो लागिरहेको महाशाखाले बताएको छ । बुधबार दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेख छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।
राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि उसले बताएको छ ।