बाँके(बैजनाथ) : ‘दोस्रो उपप्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय अन्तर बिद्यालय खेलकुद प्रतियोगिता–२०८० तथा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता’ सञ्चालनमा आएको छ । प्रतियोगिताको प्रमुख अतिथी एवम् प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौंरले बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सह-महामन्त्री राठौरले स्थानीय सरकारले आयोजना गर्ने खेल प्रतियोगिताबाट खेलाडीले आफ्नो भविष्य निर्माण गर्ने बताए । खेलाडी राष्ट्रका गहना भएको उनको भनाई छ ।
बैजनाथमा खेलकुदका लागि गाउँपालिका स्तरीय खेल मैदान निर्माण गर्न, सडक पुर्बाधार निर्माण गर्न र विभिन्न भौतिक पुर्बाधार गर्न, मुक्त कमैया र भुमिहिन सुकुम्बासीको समस्यालाई आफ्नो पाँच वर्षे कार्यकालभित्र समाधान गर्ने प्रतिवद्धता जनाए । खेलकुदको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
यस्तै प्रदेश सभाका सांसद रत्न खत्रीले बिद्यालय स्तरमा रहेका खेल प्रतिभाको पहिचान तथा नयाँ खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । खेलकुद क्षेत्रमा नयाँ प्रतिभाको पहिचान, खेलाडीको क्षमता विकासका साथै खेल पूर्वाधार निर्माणमा टेवा पुग्ने उनले बताए ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बैजनाथमा खेल क्षेत्रको विकास गराउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताए । यस्ता प्रतियोगिताबाट नयाँ नयाँ खेलाडी उत्पादन हुने उनको विश्वास छ ।
बैजनाथ गाउँपालिका खेलकुद विकास समितिका संयोजक महाबीर थारुको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा प्रतिनिधि सभाका सांसद आशा बिक, गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार यादव, गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर रुचाल, निर्वतमान उपाध्यक्ष शारदा रेग्मी विश्वकर्मा, विभिन्न वडाका वडाअध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रशिक्षक लगायत अतिथीको पनि उपस्थिती रहेको थियो ।
प्रतियोगितामा सामुदायिक र संस्थागत गरी कुल ४३ वटा बिद्यालयबाट करिव एक हजार बिद्यार्थी सहभागी भएको शिक्षा शाखा प्रमुख विश्वराज ढकालले जानकारी दिएका छन् । प्रतियोगिताको पहिलो दिन छात्र र छात्रातर्फ १०० मिटर दौडमा प्रतिस्पर्धा गराइएको छ । उक्त प्रतियोगिता यही माघ ६ गतेसम्म चल्ने शाखाले जनाएको छ ।