नेपालगन्ज : अयोध्यामा निर्मार्णाधिन राम मन्दिरमा यही माघ ८ गते हुने प्राणप्रतिष्ठाको अवसरमा नेपालगन्जमा पनि राममय बनाईने भएको छ । नेपालगन्ज उपमहानगरपालिका ६ फुलटेक्रा स्थित हडियाबाबा आश्रममा शुक्रबारदेखि महर्षि वाल्मिकी रामायण कथा वाचन लगायत विविध कार्यक्रम आयोजना गर्न लागिएको हो ।
श्रीरामको प्राणप्रतिष्ठाको अवसरमा चार दिन सम्म हवन, शोभायात्रा, रामायण पाठ, शब्दभेदी तीरकला, महामृत्युजय यज्ञ र दीप प्रज्वलन लगायतका कार्यक्रम गर्नलागेको आयोजक श्रीराम कथा ब्यवस्थापन समितिले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्राण प्रतिष्ठाको दिनमा अयोध्यानगर जान नसक्नेहरुका लागि नेपालगन्जमा अयोध्याकै झल्को दिनेगरि महर्षि बाल्मिकी रामायण कथा वाचन कार्यक्रम आयोजना गर्न लागिएको ब्यवस्थापक समितिका अध्यक्ष सुवास गुप्ताले बताए । कार्यक्रममा मर्यादा पुरुष रामको जीवनीबारे प्रष्ट बुझाउने प्रयास गरिने उनले बताए । उनले भने, ‘जसले कानले सुन्न सक्दैन उसलाई चित्रको माध्यमबाट र जसले आँखाले देख्न सक्दैन उसलाई वाल्मिकी रामायणको राम कथाबाट बुझाउने छौं ।’
कार्यक्रमबारे सम्पूर्ण तयारी भईसकेको जानकारी दिँदै अध्यक्ष गुप्ताले माघ ५ गते पहिलो दिन बिहान ८ बजे हवन, ११ बजे शोभा यात्रा र बेलुकी ६ देखि राती ९ बजे सम्म रामायाण पाठ गरिने बताए । यस्तै दोस्रो र तेस्रो दिन पनि विहान ८ बजे हवन, अप्राहन्न ४ बजे शब्दभेदी तीरकला र साँझ ६ बजे रामायण पाठ गरिने उनले जानकारी दिए ।
कार्यक्रको अन्तिमदिन अर्थात अयोध्यामा रामको प्राणप्रतिष्ठा गरिएको दिन विहान हवन, महामृत्युजय यज्ञ र बेलुका ६ बजे ५ हजार एक सय दीप प्रज्वलन गरिने अध्यक्ष गुप्ताले जानकारी दिए । कार्यक्रम अवधीभर कार्यक्रम स्थलमा सनातन हिन्दु धर्म सम्बन्धी बेद, पुरानलगायत विभिन्न धार्मिक पुस्तकहरु प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।