नेपालगन्ज : सिमा सुरक्षाबारे दुई देशका अधिकारीबीच शनिबार छलफल भएको छ । यही माघ ८ गतेका दिन अयोध्यामा हुने श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान र माघ १२ गते (२६ जनवरी) हुन लागेको गणतन्त्र दिवसलाई मध्यनजर गर्दै छलफल भएको हो ।
बाँके र बर्दियाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलाई भारतको नानपारामा शनिबार बोलाएर बहराईच जिल्लाकी ‘डिएम’ मोनिका रानीले छलफल गरेकी हुन् । अयोध्याको श्रीराम भुमी प्राण प्रतिष्ठा अनुष्ठान कार्यक्रम र गणतन्त्र दिवसको अवसरमा सुदृढ सुरक्षा ब्यवस्था बनाई राख्न सिमावर्ती दुबै तर्फका सुरक्षा अधिकारीले आपसी समन्वयका साथ काम गर्ने बैठकाकट निस्कर्ष निकालिएको नेपाली पक्षको नेतृत्व गरेका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
सो बैठकमा सिमा क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठ नियन्त्रण गर्ने, सिमा क्षेत्रमा विशेष निगरानी बढाउने, संयुक्त चेकजाँच, गस्ती र पेट्रोलिङ बढाउने जस्ता विषयमा गम्भिर छलफल भएको उनले बताए ।
छलफलमा बहराईचकी डिएम मोनिकाको नेतृत्वमा भारतीय सुरक्षा अधिकारी र नेपालको तर्फबाट बाँकेका प्रजिअ पोखरेलको नेतृत्वमा बाँके तथा बर्दियाका सुरक्षा अधिकारीले सहभागी थिए । छलफल पश्चात दुबै देशका सुरक्षा अधिकारीले नेपाल-भारत अन्तर्राष्ट्रिय सिमा स्तम्भ र जमुनाहा नाकाको निरीक्षण पनि गरेको बाँकेका प्रजिअ पोखरेलले जानकारी दिए ।
बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (प्रहरी उपरीक्षक) सुवासचन्द्र बोहरा, बर्दियाका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) सुधिर शाही, बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हर्कबहादुर शाही र बाँकेका सशस्त्र प्रहरी नायव उपरीक्षक(डिएसपी) विकास श्रेष्ठ उक्त छलफलमा सहभागी भएका थिए ।