बाँके (खजुरा) : नवौं डाँफे कप ‘नक आउट’ खुला फुटबल प्रतियोगिताको तयारी गरिएको छ । खजुरा गाउँपालिका वडा नम्बर ४ डिगाउँस्थित नेपाल राष्ट्रिय आर्दश आधारभुत बिद्यालयको खेलकुद मैदान (मिनि रंगशाला)मा यही माघ १५ गतेदेखी उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
आयोजक न्यू डाँफे स्पोर्टस् क्लबले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी गरायो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष हरिप्रकाश बि.क.ले प्रतियोगिताको आवश्यक तयारी भइरहेको जानकारी दिए ।
सबै मिलेर प्रतियोगितालाई सफल पार्नुपर्ने उनले बताए । ‘यो प्रतियोगितालाई सबै मिलेर सफल पारौं, सबैको साथ र सहयोगबाट प्रतियोगिता सफल हुन्छ,’ अध्यक्ष बि.क.ले भने । उक्त प्रतियोगितामा बाँकेका विभिन्न १६ वटा क्लबको सहभागिता रहने भएको छ ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ तथा दोस्रो हुनेले ८५ हजार ५ सय ५५ रुपैयाँ प्रात गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगितामा वेष्ट स्कोरर, वेष्ट गोल किपर र वेष्ट प्लेयरले २ हजार ५ सयका दरले नगद पाउनेछन् ।
प्रथम पुरस्कर खजुरा गाउँपालिका वडा नम्बर ४ डिगाउँ घर भई हाल अमेरिकामा बस्दै आएका लिलबहादुर थापाले ब्यक्तिगत रुपमा प्रायोजन गर्ने घोषणा गरेका छन् । प्रतियोगिताका संयोजक तिलकबीर सुनारले प्रतियोगिता सञ्चालन गर्नका लागि विभिन्न क्षेत्र तथा निकायबाट सहयोग आउने आश्वासन पाएको बताए ।
खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टेकबहादुर रोकाक्षेत्रीले खेलकुद गतिविधिसँगै क्लबलाई चलायमान बनाउनुपर्ने बताए । फुटबल संघ बाँकेका महासचिव कमल खत्रीले बाँकेमा फुटबलको माहोल एकदमै गर्विलो रहेको बताए । सो क्रममा पत्रकार शरण कर्माचार्य लगायतले आफ्नो सुझाव दिएका थिए ।