बाँके (बैजनाथ) : ‘प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव प्रर्यटन महोत्सव-२०८०’ को उद्घाटन शत्रलाई स्थानीय राजनीतिक दलले बहिष्कार गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ समिति बाँकेले पहिलो पटक सञ्चालनमा ल्याएको उक्त महोत्सवको उद्घाटन कार्यक्रम बुधबार दिउँसो राखिएको थियो । महोत्सव उद्घाटन कार्यक्रम चल्दै गर्दा आफुहरुलाई आयोजकले ‘अपमान’ गरेको भन्दै स्थानीय राजनीतिक दलले बहिष्कार गरेका हुन् ।
उद्घाटन शत्रका क्रममा आशन ग्रहण लगायत मान, मर्यादामा अपमान गरेको भन्दै बैजनाथ गाउँपालिका स्तरिय विभिन्न दलका अध्यक्ष तथा पार्टी प्रतिनिधिहरु कार्यक्रम छाडेर बाहिरिएका थिए ।
आयोजकले आशन ग्रहण लगायत कार्यक्रममा कुनैपनि मान, मर्यादा नराखेपछि आफुसहित बैजनाथ गाउँपालिकास्थित एमालेका ईन्द्रबहादुर थापा, नेकपा माओवादी केन्द्रका प्रदिप सुनार, नागरिक उन्मुक्ती पार्टीका चन्तराम थारु, राष्ट्रिय स्वतन्त्र पार्टीका धनबहादुर बस्नेत लगायत पार्टीका अध्यक्ष तथा प्रतिनिधिले बहिष्कार गरेको नेपाली काँग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसीले बताए ।
‘बैजनाथ गाउँपालिकामा रहेका सबै पार्टीका हामीहरुले अपमान भएपछि बहिष्कार गर्यौं, हामी मञ्चबाट बाहिर निस्केपछि बैजनाथ गाउँपालिकामा रहनु भएका वडाअध्यक्षहरुले पनि मञ्च छाड्नुभयो,’ सभापति केसीले भने ‘यस्तो अपमान गर्लान् भन्ने पहिल्यै सोचेको भए हामी कार्यक्रममै जाने थिएनौं ।’
कार्यक्रममा बोलाईसकेपछि सम्मान दिनुपर्नेमा अपमान गरिएको उनको गुनासो छ । आशन ग्रहण गराउने क्रममा राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई सबैभन्दा पछाडी गराइएको सभापति केसीले बताए । महोत्सवको लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्ण केसी नमुनाले दिउँसो औपचारिक रुपमा उद्घाटन गरेकी थिइन् ।
उद्घाटन कार्यक्रमलाई प्रदेश सांसद रत्न खत्री, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय लगायतले सम्बोधन गरेकाा थिए । बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित ‘कोहलपुर न्यू सिटी’ भित्र उक्त महोत्सव यही माघ २१ गतेसम्म चल्नेछ ।