नेपालगन्ज : जिल्लाभित्र रहेका पुराना सडक, पुल लगायत पुर्वाधार पुनःनिर्माण गर्नका लागि तत्कालिन सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले शिलान्यास गर्दै हिड्न थालेपछि धेरैले ब्यंग्य र टिप्पणी गरे । यतिसम्म की उनलाई ‘शिलान्यास मन्त्री’ को समेत उपनाम दिन भ्याए ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले पनि अहिले तत्कालिन मन्त्री राईको कार्यशैलीलाई पछ्याउन थालेपछि ब्यंग्य र टिप्पणी सुरु भएको छ । मेयर बिष्टले नेपालगन्जको वर्षौ पुरानो कालोपत्रे सडक (पासाङ ल्हामु मार्ग) मा बुधबार शिलान्यास गरे ।
पुरानो सडकलाई पुनः कालोपत्रे (अस्फाल्ट) गर्ने भन्दै विष्टले शिलान्यास गरेपछि अहिले सामाजिक सञ्जालमा अनेक ब्यंग्य र टिप्पणी सुरु हुन थालेको हो । सामान्यतया कुनैपनि नयाँ कामको सुरुवात गर्दा मात्र भूमीलाई पुजा गरेर शिलान्यास गर्ने प्रचलन हुन्छ ।
मेयर विष्टले बुधबार नै नेपालगन्जको फुटाहा सडकको शिलान्यास गरेको उपमहानगरपालिकाले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ फुटाहादेखि एसके डेरी उद्योगसम्म ३ सय ७५ मिटर र सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने ५ सय ५० मिटर लामो दुरिमा रहेको पासाङ ल्हामु मार्ग अस्फाल्ट कालोपत्रे गर्न मेयर विष्टले शिलान्यास गरेको उनको सचिवालयले जनाएको छ ।
दुबै सडक स्तरोन्नती गर्नकै लागि नगर प्रमुख विष्टले शिलान्यास गरेपछि कतिपय नगरबासी आश्चर्यमा परेका छन् । करिव ६० लाख रुपैयाँको बजेटमा उक्त सडक ‘सात भाई निर्माण सेवा’ नामक ठेकेदार कम्पनीले निर्माण गर्ने जिम्मा लिएको छ ।
उक्त ठेक्काको सम्झौता आगामी १५ गतेसम्म रहेको इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिए । नगर स्तरीय ७५ लाख बजेटमा अस्फाल्ट कालोपत्रे हुन थालेको पासाङ ल्हामु मार्ग पनि आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले बताएका छन् ।