नेपालगन्ज : ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता’ नेपालगन्जमा संचालनमा आएको छ । बाँके जिल्ला व्याडमिन्टन संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कवर्ड हलमा सुरु भएको उक्त प्रतियोगिताको प्रमुख अतिथी एवम लुम्बिनी प्रदेश खेलकुद परिषदका (सदस्य सचिव) जयप्रकाश भट्टराईले औपचारिक रूपमा उद्घाटन गरेका छन।
करिव २५ वर्षपछि नेपालगन्जमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता गरिएको हो । नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो । बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले प्रतियोगितामा देशभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित करिव २ सय ५० जना खेलाडी सहभागी भएको जानकारी दिए ।
प्रतियोगितामा अम्पायर ११ जना, लाइनजज २५ जना, म्याच रेफ्री २ जना र प्राबिधिक निर्देशक १ जना सहभागी भएको पनि थापाले बताए । यही माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ ।
प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजक बाँके जिल्ला व्याडमिन्टन संघले जनाएको छ । आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुने दुई जनाले १५/१५ हजार पाउनेछन ।
महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने दुई जनाले १५/१५ हजार प्राप्त गर्नेछन । पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार पाउँनेछन ।
यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार पाउनेछन । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस)का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
पछिल्ला वर्षहरुमा खेलाडीको उपस्थिती कम हुदै गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको यो प्रतियोगिता आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष मिनबहादुर मल्लले बताए । प्रतियोगिताका लागि लुम्बिनी प्रदेश खेलकुद परिषदले आर्थिक सहयोग गरेको बताइएको छ । कार्यक्रम संचालन संचारकर्मी ओविराज आचार्यले गरेका थिए ।