काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने एक सिटमा मात्रै विजयी भएको छ । निर्वाचनमा ७ प्रदेश मध्ये कोशी प्रदेशको एक सिटमा एमालेले जित हात पारेको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला र प्रमुख प्रतिपक्षी दल एमालेकी रुक्मणि कोइराला निर्वाचित भएका छन् ।
यसैगरी मधेस प्रदेशमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी(जसपा)की पूजा चौधरी, वागमती प्रदेशबाट गठबन्धनबाट नेपाली काँग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली काँग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भएका छन् ।
त्यस्तै गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै नेपाली काँग्रेसका पदमबहादुर परियार, नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ नेकपा (माओवादी केन्द्र) का मनरुपा शर्मा निर्वाचित भएको निर्वाचन आयोगले जनामएको छ । लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली काँग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समाजवादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र) का रेणु चन्द निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको थियो ।
जसमा नेपाली काँग्रेस १० सिटमा विजयी भएको छ, भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । जनता समाजवादी पार्टीले एक सिट जितेको छ, भने प्रमुख प्रतिपक्ष दल एमालेले १ सिट जितेको छ ।