बाँके (बैजनाथ) : ‘प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव प्रर्यटन महोत्सवलाई चर्चित लोक दोहोरी गायक बद्री पंगेनीले तत्ताएका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित कोहलपुर न्यू सिटीमा उक्त महोत्सव चलिरहेको छ ।
महोत्सको तेस्रो दिन गायक पंगेनीको प्रस्तुतीमा दर्शकहरु रमाएका हुन् । गायक पंगेनीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दा उपस्थित दर्शकहरुले मनोरञ्जन लिएका थिए । महोत्सवको तेस्रो दिन पनि दर्शकको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । गायक पंगेनीको स्वरमा सजिएका 'लाउ चेली सिन्दुर लाउ', 'ससुरालीमा', 'मन थिएन जोगी बन्नलाई', 'जनताको शासन' लगायत चर्चित गीतहरु छन् ।
महोत्सवका प्रचार प्रसार समिति संयोजक सुमन विश्वकर्माले दिनहुँ चर्चित कलाकारले मनोरञ्जन प्रदान गरिरहेको बताए । कलाकारको प्रस्तुती हेर्न महोत्सवमा दर्शकको उपस्थिती बाक्लो मात्रामा देखिएको उनले सुनाए । महोत्सवमा राखिएका स्टलमा ब्यापार, ब्यवसाय समेत बढेको छ । संयोजक विश्वकर्माले महोत्सवमा कलाकारको प्रस्तुतीका साथै ब्यापार, ब्यवसाय पनि बढेको बताए ।
कृषि पर्यटन उद्योग र उत्पादन सँस्कृतिको पहिचान, विकास र समृद्धि बैजनाथको अभियान भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ समिति बाँकेले पहिलो पटक महोत्सव सञ्चालन गरेको हो ।
महोत्सवमा ‘नविनतम प्रविधिजन्य उत्पादन, महिलाद्धारा सञ्चालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तु’ प्रमुख आकर्षणका रुपमा रहेको आयोजकले जनाएको छ । उक्त महोत्सव यही माघ २१ गतेसम्म चल्ने बताइएको छ ।