नेपालगन्ज : बाँकेको नेपालगन्ज रंगशालास्थित कर्वड हलमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिताको सेमिफाईनल खेल सुरु भएको छ । शुक्रबार सम्पन्न क्वाटर फाईनलबाट छनोट भएका विभिन्न ५ विधाका खेलाडीहरु यतिबेला सेमिफाइनलमा प्रतिस्प्रर्धा गरिरहेका छन् ।
शनिबार बिहान ९ बजेदेखि सुरु भएको सेमिफाईनल खेल अन्र्तगत विभिन्न विधाका १० खेल हुनेछन् । पुरुष युगल (बी लेभल) तर्फ शरद खड्का र अनुपम न्यौपानेको जोडीले राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडीसँग प्रतिस्प्रर्धा गरिरहेका छन, भने भरत चन्द र दिनेश थापामगरको जोडीले चक्रबहादुर डम्बरपाल र अविक श्रेष्ठको जोडीले प्रतिस्प्रर्धा गरिरहेका छन ।
यसैगरी पुरुष एकलतर्फ प्रिन्स दाहाल र जीवन आचार्यले प्रतिस्प्रर्धा गरिरहेका छन । नेपालगन्ज रंगशालास्थित कर्वड हलको तीन वटा कोर्टमा एकैपटक जारी खेलमा सेमिफाईनलका लागि महिला एकलतर्फ नेपाल आर्मीकी रसिला मर्हजन र नेपाल प्रहरीकी निता लम्सालबीच प्रतिस्प्रर्धा हुनेछ ।
यस्तै कैलालीकी एलिना सुनार र एपिएफकी शोभा गौचनबीच प्रतिस्प्रर्धा हुनेछ, भने पुरुष एकलतर्फ अमन मर्हजन र कविर केसीबीच प्रतिस्प्रर्धा हुने मुख्य रेफ्री किरण करञ्जितले बताए । मुख्य रेफ्री किरणका अनुसार पुरुष युगलतर्फ प्रिन्स दहाल र बिजित थापामगरको जोडीले अमन महर्जजन र रोशन साउदको जोडीसँग प्रतिस्प्रर्धा गर्नेछन । त्यस्तै पुरुष युगलतर्फ नै क्षितिज खनाल र देवराज रानाको जोडीले जिवन आचार्य र विष्णु कटवालसँग प्रतिस्प्रर्धा गर्नेछन ।
पुरुष युगल (भेट्रान्स ४५ प्लस) तर्फ हरि खत्री र राजकुमार पोखरेलको जोडीले अरुण गौतम र अभयलाल श्रेष्ठको जोडीले प्रतिस्प्रर्धा गर्नेछन । मुख्य रेफ्री किरणका अनुसार सेमिफाईनल खेल लगतै फाईनल खेल खेलाइनेछ ।
नकआउट आधारमा भइरहेको प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, एपिएफ तथा नेपाल पुलिस सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिव २ सय ५० जना खेलाडीको सहभागीता रहेको छ । बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता ब्याटमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन ।