नेपालगन्ज : सशस्त्र प्रहरीको विभागिय टोली एपिएफका प्रिन्स दाहालले ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधी हात पारेका छन् । नेपालगन्ज रंगशालास्थित कर्वड हलमा शनिबार सम्पन्न भएको फाईनल खेलमा पुरुष एकलतर्फ नेपाल आर्मीका कविर केसीलाई २१–७, २१–१४ को सोझो सेटमा पराजित गर्दै दाहालले उपाधि हात पारे ।
नेपाल प्रहरीका जीवन आचार्य र एपिएफका अमन महर्जन तेस्रो भएका छन् । दाहालले नेपाल प्रहरीका जीवन आचार्यलाई २१–१६, २१–१२ ले तथा नेपाल आर्मीका कविर केसीले एपीएफका अमन महर्जनलाई २१–१७, २१–५ ले पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।
सोही प्रतियोगितामा महिला एकलतर्फ नेपाल आर्मीकी रसिला महर्जनले एपिएफकी शोभा गौचनलाई २१–१०, २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधित हात पारिन् । एपिएफकी गौचनले उपविजेतामा चित्त बुझाइन् । प्रतियोगितामा नेपाल प्रहरीका निता लम्साल र कैलालीकी एलिना सुनार तेस्रो भएका छन् । महर्जनले नेपाल प्रहरीकी निता लम्साललाई १८–२१, २१–११, २१–६ ले तथा एपिएफकी शोभाले कैलालीकी एलिना सुनारलाई २१–१०, २१–१२ ले पराजित गर्र्दै फाईनलमा प्रवेश गरेकी थिइन् ।
प्रतियोगितामा पुरुष युगलतर्फ एपिएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी पहिलो भएको छ । उक्त जोडीले एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीलाई २१–१४, २१–११ को सोझो सेटमा पराजित गर्यो । एपिएफका अमन महर्जन र रोशन साउदको जोडी तथा नेपाल प्रहरीका जीवन आचार्य र विष्णु कटवालको जोडी तेस्रो भयो ।
प्रतियोगितामा पुरुष युगल (भेट्रान्स ४५ प्लस) तर्फ बाँकेका जयन्त श्रेष्ठ र अनिल लाखेको जोडी पहिलो भएको छ । श्रेष्ठ र लाखेको जोडीले नेपालगन्जका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई २२–२०, २१–१६ सोझो सेटमा पराजित गरेको थियो । बुटवलका बीरेन्द्र बिष्ट र रितेश थापाको जोडी दोस्रो तथा बाँकेका अरुण गौतम र अभयलाल श्रेष्ठको जोडी तेस्रो भएको छ ।
यस्तै पुरुष युगल(बी लेभल) तर्फ सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी पहिलो भएको छ । सो जोडीले सेमिफाईनलमा धनगढीका भरत चन्द र दिनेश थापामगरको जोडीलाई २१–१७, २३–२१ ले पराजित गरेको थियो । नेपाल प्रहरीका चक्रबहादुर डम्बरपाल र अविक श्रेष्ठको जोडी तथा गुलरियाका सरद खड्का र अनुपम न्यौपानेको जोडी तेस्रो भए ।
प्रतियोगितामा पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार नगद प्राप्त गरेका छन् । यस्तै महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गरेका छन्, भने पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गरेका छन् ।
यस्तै पुरुष युगल (भेट्रान्स ४५ प्लस) का विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १०/१० हजार रुपैयाँ पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार नगद प्राप्त गरेका छन् ।
समापन समारोहका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, लुम्बिनी प्रदेश खेलकुद परिषदका (सदस्य सचिव) जयप्रकाश भट्टराई, परिषदका सदस्य नरेन्द्र थापा, नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दिपजंग शाह, प्रमुख रेफ्री किरण रञ्जित लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना भएको हो ।आयोजक बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले समापन समारोहमा प्रतियोगिताका सहयोगी संस्था, प्रमुख अतिथी तथा अतिथी लगायतलाई मायाको चिनो, कदरपत्र प्रदान गरे ।
'नकआउट' आधारमा भएको प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, एपिएफ तथा नेपाल पुलिस सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिब २ सय ५० जना खेलाडीको सहभागिता रहेको थियो । प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको सहयोगमा बाँके जिल्ला व्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
यो पनि पढ्नुस् :
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : सेमिफाईनलमा भिड्दै यी खेलाडी
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा क्वाटर फाइनलका खेल सम्पन्न
राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता : प्रिक्वाटर र क्वाटर फाईनलका आज ५८ खेल
नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता
‘प्रथम नेपालगन्ज कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता’ को तयारी पुरा
राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता माघ दोस्रो साता नेपालगन्जमा