काठमाडौं : नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष, पत्रकार कलेन्द्र सेजुवालले लेखेको पुस्तक ‘फल्स फ्रन्ट पेज’ औपचारिक रुपमा सार्वजनिक भएको छ । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले शनिबार एक समारोहका बीच पुस्तक विमोचन गरेका हुन् ।
‘प्रेस फ्रिडम’ मिडियाले प्रकाशन गरेको उक्त पुस्तकमा सन्दर्भ, उपकथा र मूलकथा गरी ३ खण्ड समेटिएको छ । यस्तै कर्णाली प्रदेशको सुर्खेतमा चलेको सिमांकन आन्दोलनले मुलुकको राजनीतिक विभाजन ६ प्रदेशको सिमांकनलाई बदलेर ७ प्रदेश बनाएको बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ ।
पुस्तक विमोचन गर्दै खड्काले पत्रकारिता सही मार्गमा हिँडेपछि मात्र त्यसले समाज र समग्रलाई देशलाई सही दिशानिर्देश गर्ने धारणा राखे । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रका विषयमा सञ्चारकर्मीले नै आलोचनात्मक पुस्तक प्रकाशित गर्नु राम्रो पक्ष भएको बताए ।
महासंघका पूर्वअध्यक्ष एवम् वरिष्ठ पत्रकार किशोर नेपालले पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार सेजुवालले रिपोर्टिङमा जस्तै पुस्तकमा पनि आफ्नो खोजपूर्ण कौशल देखाएको बताए । महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले पुस्तक तथ्य कथा रहेको बताए ।
महांघका पूर्वअध्यक्ष धमेन्द्र झाले पत्रकारका लागि पुस्तक उपयोग हुने धारणा राखे । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय खोज पत्रकारिता संकटमा परेको अवस्थामा पत्रकारले खोज तथा अनुसन्धान कार्य गर्नु सकारात्मक भएको बताए ।
पुस्तक विमोचन कार्यक्रममा अग्रज पत्रकार निर्मला शर्मा, गोविन्द कोइराला, लेखक तथा पत्रकार सेजुवाल लगायतले पुस्तकबारे धारणा ब्यक्त गरे ।