नेपालगन्ज : बहुबिवाह मुद्दाको अनुसन्धानका लागि पक्राउ परेकी अधिकारकर्मी रुबी खान हिरासतमै रहेकी छन् । उनलाई काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो ।
पक्राउपछि रुबीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेपछि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो । काठमाडौं प्रहरीबाट पक्राउ परेकी रुबीलाई शनिबार बेलुका जहाजमार्फत नेपालगन्ज ल्याइएको थियो ।
सर्बोच्चले आदेश दिएपनि पत्र नआएकाले रुबीलाई हिरासतबाट मुक्त गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले बताए । ‘सर्बोच्च अदालतले २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन आदेश गरेको सुनियो, तर हामीलाई आधिकारीक रुपमा पत्र आइसकेको छैन,’ उनले भने ‘भोली बिहानसम्म पत्र आयो भने हामी काठमाडौं लैजान्छौं, अदालतको आदेशलाई सम्मान गर्छौ ।’
रुबीले जिल्ला प्रहरी कार्यालय बाँकेको महिला हिरासत कक्षमै आमरण अनसन पनि थालेको एसपी अधिकारीले बताए । ‘उहाँले आमरण अनसन थाल्नु भएको छ, उहाँको स्वास्थ्य अवस्थाबारे प्रहरी चनाखो छ, हिरासतमा भएपनि हामीले उहाँलाई स्वतन्त्रता दिएका छौं, मोबाईल र सामाजिक सञ्जाल चलाउन पनि दिएका छौं,’ उनले थपे ।
सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाऊ आदेश जारी गरेको हो । नेपालगन्ज-७ की स्थायी बासिन्दा रुबीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शन पनि भएको थियो ।
न्याय माग्नका लागि रुबीसहित नेपालगन्जबाट १४ महिला करिव २० दिन पैदल हिडेर गत बुधबार राति काठमाडौं पुगेका थिए । प्रहरीले उनलाई बहुबिवाह सम्बन्धी मुद्दाको अनुसन्धानका लागि भन्दै काठमाडौंबाट शनिबार बेलुका नेपालगन्ज ल्याएको थियो ।
यो पनि पढ्नुस् :
अधिकारकर्मी रुबीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
अधिकारकर्मी रुबी खानविरुद्ध बहुबिवाह मुद्दामा अनुसन्धान
माइतीघरमा प्रर्दशन गरेका बाँकेका महिला र पुरुष नियन्त्रणमा
न्याय माग्दै नेपालगन्जबाट हिडेका पैदल यात्री नवलपरासीमा
शुभकामना बडादसैँको - भिडियो