नेपालगन्ज : नेपालगन्जमा सोमबार १८ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइएको छ । हरेक वर्ष माघ १५ गते राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बिरामीले सहज रूपमा रगत पाउनुपर्ने बताइन् । सरकारले बिरामीलाई आवश्यक परेको अवस्थामा निःशुल्क र सहज रूपमा पाउनुपर्ने वातावरण निर्माणमा ध्यान दिनुपर्ने धारणा राखिन् ।
सांसद काफ्लेले रगतको सहज व्यवस्थापन र निःशुल्क पाउनुपर्ने बिषयमा आफुले पहल गर्ने बताइन् । भेरी अस्पतालमा आउने बिरामीले निःशुल्क रूपमा रगत पाउने व्यवस्था भएजस्तै अन्य अस्पतालका बिरामीले पनि निःशुल्क पाउनुपर्ने कुरामा उनको जोड छ । उनले यसको उपलब्धतालाई सहज बनाउन सरकारले प्रभावकारी अभियान सञ्चालन गर्न आवश्यक रहेको समेत उल्लेख गरिन् ।
‘स्वयंसेवी रक्तदाता समाजको म आफूपनि आजिवन सदस्य हो,’ सांसद काफ्लेले भनिन्, ‘रगत सबैका लागि आवश्यक छ, तर यसको उपलब्धता सहज छैन, यसका लागि स्थानीय तहले पनि ध्यान दिन जरुरी छ ।’ उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंककी सञ्चालक विजया धितालले यस अभियानमा जो जसरी सहयोगी बन्न सक्छ बन्नुुपर्ने बताइन् । बोल्ने बेला जे पाए त्यो बोल्ने तर गर्ने बेला नगर्ने भन्दा जे गर्न सकिन्छ त्यही कुरा मात्र नबोलिदिँदा समाजमा सकारात्मक उर्जा प्रवाह हुन नसकेको बताइन् ।
यस्तै अन्तर पार्टी महिला सञ्जाल बाँकेकी पूर्वअध्यक्ष रेखा गुप्ताले रक्तदान जस्तो ठुलो अर्को कुनै दान नहुने भएकाले प्रत्येक स्वास्थ व्यक्तिले रक्तदान गर्नुपर्ने बताइन् । आफूले रगत दिन नमिल्ने भएपनि छोरा छोरीलाई रक्तदान गर्न सबै अभिभावकले बुझाउनुपर्ने कुरामा जोड दिइन् ।
स्वयंसेवी रक्तदाता दिवसको बारेमा जानकारी गराउँदै समाजका सल्लाहकार एवं वरिष्ठ पत्रकार पूर्णलाल चुकेले स्वःस्फूर्त रूपमा नियमित रक्तदान गर्ने व्यक्तिहरू मिलेर रक्तदान कार्यलाई बृहत बनाउन समाजको स्थापना भएको र उक्त स्थापनाको समयलाई आधार मानेर प्रत्येक वर्ष दिवस मनाउन थालिएको स्पष्ट पारे ।
सरकारले यसलाई आधिकारिक रूपमा क्यालेण्डरमा समावेश गर्न नसकेकाले समावेश गर्न र यस दिन सरकारी स्तरबाटै कार्यक्रम हुनुपर्ने भन्दै बताए । कार्यक्रमका अध्यक्ष एवं समाज बाँकेकी अध्यक्ष दिला शाहले यो पुण्य कार्यमा आम व्यक्तिहरू समेत सहभागी हुनुपर्ने भन्दै जिल्लाका स्थानीय तहमा समाजको उपशाखाहरू निर्माण गरेर गतिविधि सुरू गरिएको बताइन् । उनले पालिकाले आफ्ना जनताका लागि यो अधियान सञ्चालनमा सक्रिय बन्न आवश्यक रहेको बताइन् ।
उक्त कार्यक्रममा ९२ पटक रक्तदान गरेकी स्वयंसेवी रक्तदाता समाजका सल्लाहकार तथा पत्रकार पवन जायसवाल, सल्लाहकार एवं पत्रकार शंकरप्रसाद खनाल, स्वयंसेवी रक्तदाता एवं अभियान्ता सुनिल परियार, समाजका कोषाध्यक्ष मनमोहन बर्मा, सदस्य दिनेश ठाकुर, होमराज गिरी लगायत उपस्थित भएको उक्त कार्यक्रम सञ्चालन सचिव भिष्म लोधले गरेका थिए ।