नेपालगन्ज : नेपाल मुद्रण उद्योग बाँकेको छैठौँ अधिवेशनले पुनः बिनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । गाभर भ्याली पार्कमा सम्पन्न भएको उक्त अधिवेशनले पौडेललाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा बिधान न्यौपाने, सचिवमा नोखराज रावत, सह-सचिवमा हरी प्रसाद ज्ञवाली, कोषाध्यक्षमा मोहमद वाहाव खान र सहकोषाध्यक्षमा ढकबहादुर थारु निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा केशव उपाध्याय, चन्द्र कँडेल, डिल्लीरमन ओली, महेश ज्ञवाली, मोहमद आवेश खान निर्वाचित भएका छन् ।
पूर्णलाल चुकेको संयोजकत्वमा बनेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो । अधिवेशनको उद्घाटन शत्रमा बोल्दै उद्योगी, व्यवसायीले आर्थिक संकटका बारेमा सरकारको ध्यानार्कषण गराएका थिए । आर्थिक संकटले मुद्रण उद्योगमा परेको मर्काका बारेमा चर्चा गरे । उनीहरुले मुद्रण उद्योगलाई चलायमान बनाउन नीति आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।
सो क्रममा महासंघका केन्द्रीय सहसचिव मिना सुवेदी (ढकाल), महासंघका केन्द्रीय सदस्य चण्डीप्रसाद गैरे, मुद्रण संघ बाँकेका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारी, मुद्रण संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष पूर्णलाल चुके लगायत बाँके जिल्लाका मुद्रण व्यवसायीको उपस्थिती रहेको थियो । अधिवेशनको बन्दसत्रमा प्रस्तुत लेखा तथा सांगठनिक प्रतिवेदन सर्बसम्मत रुपमा पारित भएको थियो ।