नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाटै भारतका विशेषज्ञ डाक्टरले उपचार सुरु गरेका छन् । नेपालगन्ज मेडिकल कलेज र भारतको लखनउस्थित अपोलो मेडिक्स अस्पतालबीच भएको समझदारी अनुसार शनिबारबाट यस्तो सेवा सुरु गरिएको हो ।
अपोलो मेडिक्स अस्पतालकी विशेषज्ञ डाक्टर राधिका बाजपेईले शनिबार कृत्रिम गर्भधान (आई.भि.एफ.) उपचार प्रदान गरेको लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिए । उनका अनुसार आगामी शनिबारबाट अपोलो मेडिक्स अस्पतालका डाक्टरमार्फत मुटु शल्यक्रिया, प्लाष्टिक सर्जरी, मुटुरोग, क्यान्सर सर्जरी लगायत सेवा प्रदान गरिनेछ ।
मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र अपोलो मेडिक्स अस्पताल भारतका प्रबन्ध निर्देशक डा. मयंक सोमानीबीच उक्त सेवा प्रदान गर्ने विषयमा हस्ताक्षर भइसकेको छ । नेपालको स्वास्थ्य तथा चिकित्सा विज्ञान क्षेत्रमा सेवा प्रदान गर्नका लागि नेपालगन्ज मेडिकल कलेज २०५३ सालमा स्थापना भएको थियो ।
मेडिकल कलेजले शनिबार आयोजना गरेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. कनोडिया, अपोलो मेडिक्स अस्पताल भारतका प्रबन्ध निर्देशक डा. मयंक, नेपालगन्ज मेडिकल कलेजका प्रिन्सिपल डा. अनुप शर्मा लगायतले यो समझदारीबाट यहाँका बिरामीले नेपालगन्ज र भारतमा पनि सहज रुपमा गुणस्तरिय उपचार पाउने विश्वास गरेका थिए ।
‘भारतका विशेषज्ञ डाक्टरमार्फत बिरामीले निःशुल्क सुपरस्पेशलिटी परामर्श÷उपचारको सेवा आफ्नै शहरमा पाउनेछन्, बिरामीले उत्कृष्ट विश्वस्तरको स्वास्थ्य सेवा पाउने छन्,’ सहायक निर्देशक डा. कनोडियाले भने । दुबै अस्पताल बीचको सहकार्यमा नेपालगन्जमा केही निःशुल्क उपचारका साथै विभागीय विषयका सेमिनार तथा चिकित्सकसँग अन्र्तक्रिया गरी बिरामीलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
अपोलो मेडिक्स अस्पतालसँगको सहकार्यमा मेडिकल कलेजले नेपालगन्जमै बिरामीलाई विशिष्टकृत सेवाहरु क्यान्सर रोग, आई.भि.एफ सेवा, मुटु रोग, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी प्रदान गर्नेछ । बिरामीलाई आवश्यक पर्ने सेवा प्रभावकारी बनाउन मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा निःशुल्क ओ.पि.डि सेवा दिने भएको छ ।
मेडिकल कलेज शिक्षण अस्पतालमा हुन नसक्ने सेवाहरु मात्र अपोलो अस्पताल लखनऊ बिरामीको आवश्कता अनुसार रिफर हुन सक्नेछन् । अपोलो अस्पताल लखनउमा रेफर भएका बिरामीले पहिलो फलोअपमा निःशुल्क सेवा पाउनेछन् । यस्तै दोस्रो फलोअपबाट बिरामीले ओ.पि.डि चार्जमा २० प्रतिशत छुट पाउनेछन् । बिरामीले अपोलो अस्पतालमा हुने ओ.पी.डी पर्चामा ल्याब र रेडियोलोजी परिक्षणमा २० प्रतिशत छुट पाउनेछन् ।
यसैगरी बिरामी भर्ना हुनु परेमा अपोलो अस्पतालमा हुने ल्याब र रेडियोलोजी परिक्षण, आई.पि.डि बिल र अन्य प्रक्रियामा १० प्रतिशत छुट पाउनेछन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट लिएको आधिकारिक रेफरल कार्ड देखाएमा मात्र बिरामीले सुविधा पाउने बताइएको छ ।