दाङ (देउखुृरी) : लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आइतबार सञ्चारकर्मीलाई नगद सहित पुरस्कृत गरिएको छ । प्रदेश राजधानी देउखुरीमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्ती, गृहमन्त्री सन्तोषकुमार पाण्डेय, शहरी विकास मन्त्री कृष्णा केसी नमुना, कृषि तथा भूमी ब्यवस्था मन्त्री भण्डारीलाल अहिर, पुर्बमुख्यमन्त्री कुलप्रसाद केसी लगायतले दोसल्ला ओढाएर पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
उक्त समारोहमा नगद १ लाख सहित ‘अग्रज सञ्चारकर्मी सम्मान’ दाङका कृष्णप्रसाद घिमिरेलाई प्रदान गरियो । यस्तै नगद ५० हजार र प्रमाणपत्र सहित नेपालगन्जका पत्रकार अर्जुन ओलीलाई ‘सृजनशिल सञ्चारकर्मी सम्मान’ बाट पुरस्कृत गरिएको छ ।
उनी नागरिक दैनिकका नेपालगन्ज संवाददाता हुन् । विगत लामो समयदेखि पत्रकारिताको मुल्य, मान्यता र आचार संहितालाई पालना गरी निश्पक्ष र उत्तरदायी रूपमा सन्तुलित सुचना तथा बिचार प्रवाह गर्दै निस्वार्थ रूपले राष्ट्र, समाज र पत्रकारिता जगतमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गरिएको उल्लेख छ ।
यस्तै भैरहवाका पत्रकार रविन्द्रप्रताप गुप्ता, कपिलवस्तुका भुपाल थापा, दाङका चुमा आचार्य बन्जाडे, रुकुम पुर्वका जयमान बुढामगर, पाल्पाका माधवप्रसाद अर्याल, अर्घाखाँचीका बीरेन्द्र केसी, नेपालगन्जका सिराजुद्धिन खान, प्युठानका मधुसुदन भण्डारी, दाङका दशरथ घिमिरे, बर्दियाका रामप्रसाद चौहान र रुपन्देहीका तेजेन्द्र केसीलाई प्रदान गरिएको छ ।
यसैगरी लामो समयदेखि पत्रकारिताको माध्यमबाट थारु कला, सँस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्याए वापत नगद ५० हजार सहित बिबिसी नेपाली सेवाका नेपालगन्ज संवाददाता बिमला चौधरी र दाङका सन्तोष दहितलाई पुरस्कृत गरिएको छ । प्रदेश सरकार र प्रदेश सभामा कार्यरत उत्कृष्ठ कर्मचारी तथा सुरक्षाकर्मी पनि पुरस्कृत भएका छन् । सोही समारोहमा प्रदेश सभाले लुम्बिनीका संस्थापक सदस्यहरुलाई लोगो वितरण गरेको छ ।