नेपालगन्ज : प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा बाँकेका ४ जना पत्रकार पुरस्कृत भएका छन् । ‘रेशम बिरही सृजनशील पत्रकारिता पुरस्कार-२०८०’ नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य झलक गैरे पुरस्कृत भएका छन् ।
प्रेस चौतारी नेपाल बाँके शाखाले सोमबार आयोजना गरेको एक कार्यक्रममा दैनिक नेपालगन्जका प्रधान सम्पादक गैरेलाई दोसल्ला ओढाएर नगद ११ हजार र सम्मान-पत्रसहित पुरस्कृत गरियो । सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य सरला सुवेदीलाई पनि पुरस्कृत गरिएको छ ।
रेडियो नेपालका बाँके संवाददाता समेत रहेकी उनलाई नगद ५ हजार सहित ‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार’ प्रदान गरियो । प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुण, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला ईन्चार्ज डिलप्रकाश गौतम लगायतले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रेस चौतारी बाँकेले सोमबार नै आयोेजना गरेको एक अन्तरक्रिया कार्यक्रममा प्रदेश सभाका सांसद दुर्गा चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक, पत्रकार महासंघका पुर्वकेन्द्रीय सदस्य झलक गैरे, वरिष्ठ पत्रकार शिव डोटेल, महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, प्रेस सेन्टरका केन्द्रीय सदस्य संगिन शर्मा, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा लगायतले बोलेका थिए । चौतारी बाँकेका सचिव कमल डाँगीले सञ्चालन गरेको कार्यक्रममा मिडियाको दिगोपनाका लागि जनप्रतिनिधिको भूमिका विषयमा अन्तरक्रिया गरिएको थियो ।
त्यस्तै स्थापना दिवसकै अवसरमा प्रेस चौतारी नेपाल कोहलपुर कमिटीले पनि पत्रकार बैकुण्ठ अधिकारी र पवित्रा परियारलाई पुरस्कृत गरेको छ । पत्रकार अधिकारी र परियारलाई स्वर्गिय दुर्गा प्रसाद बेल्वासे स्मृति पुरस्कारबाट नगदसहित पुरस्कृत गरिएको अध्यक्ष प्रमोद रिजालले जानकारी दिए । पत्रकार अधिकारी कोहलपुरस्थित रेडियो मिसन र परियार रेडियो प्रतिबोधमा कार्यरत छन् ।