बाँके (डुडुवा) : डुडुवा गाउँपालिकाले आफ्नो १५ औँ गाउँसभा सम्पन्न गरेको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८०/०८१ को केही कार्यक्रम तथा योजनालाई संशोधन गरेको छ । सभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले संशोधित कार्यक्रम तथा योजना सहितको प्रस्ताव पेश गरेका थिए ।
प्रस्तुत प्रस्ताव माथी छलफल गर्दै सभाले सर्बसम्मत रुपमा पारित गरेको थियो । अध्यक्ष चौधरीले आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्मको प्रगती विवरण प्रस्तुत गरेका थिए । सभामा बोल्दै अध्यक्ष चौधरीले गाउँपालिका विशेष रणनीति र कार्ययोजनाका साथ अघि बढिरहेको भन्दै स्वास्थ्य, शिक्षा, कृषि, पशु लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको बताए ।
गाउँपालिकाले एउटा लक्ष्य र उद्देश्य अनुरुप नै कार्य गरिरहेका बेला विपक्षी दलहरुले बेला बेलामा अवरोध श्रृजना गरेको बताउँदै भने, ‘राम्रो काम गर्नेलाई कसैले पनि रोक्न सक्दैन, जनताको हितमा नै काम गरिरहेको छु, म कानून विपरित कुनै पनि काम गरेको छैन, साथीहरुले विभिन्न आरोप प्रत्यारोप लगाइरहेका छन, यदी मैले कुनै गलत कार्य गरेको छु भने प्रमाणित गरुन भन्ने मेरो प्रश्न छ ।’
कुनै पनि विवाद समाधानको उपाय भनेको संवाद भएको बताए । उक्त सभामा १९ जना सदस्यहरुको सहभागिता रहेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बहुमतको आधारमा बैठकको कोरम पुगेर सभा बसेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव गिरबहादुर सेजुवालले बताए ।
यसअघि माघ ४ गते बोलाइएको गाउँसभामा कोरम नपुगेर स्थागित भएको थियो । यसपटकको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाअध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ लगायत सदस्यको उपस्थिती रहेको प्रमुख प्रशासकीय अधिकृत सेजुवालले जानकारी दिए ।