कोहलपुर : सुशील कोइराला मेमोरियल यु नाइन्टिन महिला राष्ट्रिय टि २० क्रिकेट च्याम्पिनसीप शनिबारबाट सुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजना, कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापन र क्यानको सहकार्य र प्राविधिक सहयोगमा कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको प्रमुख अतिथी एवम् संविधान सभा सदस्य अमरसिंह पुन र नगर प्रमुख पूर्णप्रसाद आचार्यले ब्याटिङ र बलिङ गरेर उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य पुनले खेल मैदान मात्र भएर नहुने भन्दै राष्ट्रिय स्तरका प्रतियोगिता कोहलपुर क्रिकेट मैदानमा हुनु आवश्यक रहेको बताए । ‘कोहलपुर नगरपालिकाले खेलकुदको क्षेत्रमा गरेको लगानी अत्यन्तै सह्रानीय छ, यसले क्रिकेट मैदानको उपयोगिताको समेत पुष्टि गरेको छ,’ उनले भने ।
क्रिकेट संघ (क्यान)का केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले यो प्रतियोगितालाई क्यानको क्यालेनडरमा राखेर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रियस्तरका प्रतियोगिताहरु संचालन गरिने प्रतिबद्धता जनाए ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले क्यानको महत्वपूर्ण सहयोगका कारण राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न सफल भएको बताए । उपप्रमुख संगिता सुवेदीले बाँके क्रिकेटरको उर्वरभूमि भएपनि पछिल्लो समय भने नयाँ खेलाडी उत्पादन नहुँदा खेलाडीहरुको अभाव सिर्जना भएको बताइन् ।
उद्घाटन कार्यक्रममा नेपाल भलिवल संघका केन्द्रीय सचिव मंगल श्रेष्ठ, क्यानका लुम्बिनी प्रदेश सदस्य दुर्गा थापा, क्रिकेट संघ बाँकेका अध्यक्ष सरोवर प्रसाई, नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारी लगायतको उपस्थिती रहेको थियो ।