नेपालगन्ज : नेपालगन्जको रंगशालामा शनिबारबाट जारी ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्र्तगत दोस्रो दिन आईतबार विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा उक्त प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता अन्तरगत आईतबार सम्पन्न छात्र पुरुषतर्फको कबड्डीमा जानकी गाउँपालिकालाई हराउँदै नेपालगन्ज उपमहानगरपालिका विजयी भएको छ । कबड्डी छात्रातर्फ खजुरा गाउँपालिकासँग पराजित हुँदै नेपालगन्ज उपमहानगरपालिका दोस्रो भएको छ ।
छात्र तर्फको कबड्डीमा जानकी गाउँपालिका दोस्रो स्थान प्राप्त गर्न सफल हुँदा कोहलपुर र बैजनाथ गाउँपालिकाले तेस्रो स्थान प्राप्त गर्न सफल भए । यस्तै छात्रा कबड्डीतर्फ खजुरा गाउँपालिका दोस्रो हुँदा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरे ।
४०० मिटर छात्रतर्फको दौडमा कोहलपुरका निर्मल परियार प्रथम, जानकी गाउँपालिकाका कमल साहु दोस्रो र नेपालगन्जका अनुप थारुले तेस्रो स्थान प्राप्त गरे । यस्तै ८०० मिटर छात्र दौडमा राप्ती सोनारीका करण नेपाली प्रथम हुँदा राप्ती सोनारीकै राकेश खटिक दोस्रो र खजुराका विराज दर्नालले तेस्रो स्थान प्राप्त गरे ।
हाईजम्प छात्रतर्फ कोहलपुरका मिलन विश्वकर्मा प्रथम, नेपालगन्जका अनुराग पहाडी दोस्रो र राप्तीसोनारीका प्रदीप विष्टले तेस्रो स्थान प्राप्त गरे । हाईजम्प छात्रातर्फ कोहलपुरकी निश्मा थारु प्रथम, राप्ती सोनारीकी स्वशिका थारु दोस्रो र बैजनाथकी मनिषा थारुले तेस्रो स्थान प्राप्त गरे ।
यस्तै ज्याभलिङ छात्रतर्फ नेपालगन्जका विष्णु घर्तीमगर प्रथम, खजुराका सुवाष रानामगर दोस्रो र राप्ती सोनारीका बालकृष्ण थारु तेस्रो भए । यसैगरी ज्याभलिङ छात्रातर्फ राप्ती सोनारीकी सुस्मा चौधरी प्रथम, खजुराकी पुष्पा कामी दोस्रो र राप्ती सोनारीकी दीपा थारु तेस्रो भइन् ।
आईतबार नै सम्पन्न भलिबल फाईनलमा छात्रतर्फ कोहलपुर नगरपालिका प्रथम, बैजनाथ गाउँपालिका दोस्रो र राप्ती सोनारीले तेस्रो स्थान पाउन सफल भयो । यस्तै भलिबल छात्रातर्फ राप्ती सोनारी प्रथम, कोहलपुर दोस्रो र खजुरा तेस्रो हुन सफल भयो ।
तेक्वान्दोतर्फ छात्र र छात्राको विभिन्न ६ वटा विधामा भएका खेलमा कोहलपुर प्रथम, राप्ती सोनारी दोस्रो र बैजनाथले तेस्रो स्थान प्राप्त गर्न सफल भएको जिल्ला खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए । उनका अनुसार सोमबार(भोली) ४×४ रिले, २०० मिटर, ३००० मिटर र त्रिपल जम्पका छात्र र छात्राका दुवै खेल हुनेछ । त्यस्तै बिहान ११ बजे हुने समापन समारोह प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशकी सांसद माया पुनद्वारा गरिनेछ ।
प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष संदिपजंग शाहले बताए । उनका अनुसार जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखी १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउने छन् ।