नेपालगन्ज : लागू औषध प्रयोगकर्ताको उपचार तथा पुनस्र्थापनाका लागि सञ्चालनमा रहेका पुनर्स्थापना केन्द्रको अनुगमन गरिएको छ । गृह मन्त्रालयद्धारा स्वीकृत कार्यविधि अनुरुपको मापदण्ड अनुसार सञ्चालन भएका छन् या छैनन् भनि बुधबारबाट बाँके प्रशासनले अनुगमन थालेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीको नेतृत्वमा खटिएको टोलीले प्रयास नेपाल नेपालगन्ज, नव किरण पुनर्स्थापना केन्द्र र प्रेरणा पुनर्स्थापना केन्द्रको अनुगमन गरेको छ । अनुगमनका क्रममा तीन वटै केन्द्रले गृह मन्त्रालयबाट आवद्धता प्राप्त गरेको र आधारभुत मापदण्ड पूरा गरेको पाइएको छ ।
प्रयोगकर्ताहरुबाट आर्थिक अवस्था हेरेर न्युनतम ६ हजारदेखी १५ हजार रुपैयाँसम्म सेवा शुल्क उठाउने गरेको र अनुगमन हुँदाका बखत तीन वटै केन्द्रबाट कुल ७६ प्रयोगकर्ताहरुले उपचार सेवा लिइरहेको पाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
पुनर्स्थापना केन्द्रमा सरसफाई, पुस्तकालय सुविधा, गुणस्तरीय चिकित्सकिय सुविधा र सुरक्षा जस्ता विषयहरुमा अझ बढी संवेदनशिल भई जिम्मेवार र जवाफदेही बन्न प्रशासनले निर्देशन दिएको उनले बताए । लागू औषध प्रयोगकर्ताको संख्या अन्य जिल्लाको तुलनामा बढी भएकै कारण उपचार तथा पुनर्स्थापना केन्द्रको संख्या पनि बढी नै रहेको छ ।
जिल्लामा २२ वटा उपचार केन्द्र दर्ता भएको पाइए पनि सेवा सञ्चालन भने २० वटाले मात्र गरिरहेका छन् । सञ्चालनमा रहेका २० वटा मध्ये महिला प्रयोगकर्तालाई मात्र लक्षित गरेर एउटा उपचार केन्द्र सञ्चालन भइरहेको प्रजिअ पोखरेलले बताए । हाल नवदृष्टी महिला उपचार तथा पुनर्स्थापना केन्द्रमा २३ जना महिला लागू औषध प्रयोगकर्ताहरुले सेवा लिइरहेका छन् ।
लागू औषधको उपभोग र कारोबारको दृष्टिकोणबाट बाँके जिल्ला नेपाल कै आठौं संवेदनशील जिल्लाका रुपमा रहेको बाँके प्रशासनले जनाएको छ । पश्चिम नेपालको मुख्य ब्यापारिक नाका भएको, ६५ किलो मिटर भारतसँगको खुल्ला सिमानाका भएको र आसपासका भारतीय सिमावर्ती बजारमा लागू औषध सजिलै उपलब्ध हुने भएकाले पनि यसै भुगोलमार्फत पश्चिम नेपालका विभिन्न जिल्लामा लागू औषध पुग्ने गरेको आशंका गर्ने गरिन्छ ।
चालू आर्थिक वर्ष २०८०/०८१ को ७ महिनामा लागू औषध सेवन, कारोबार सम्बन्धी ३७ वटा मुद्दा दर्ता भएका छन् भने ५१ जना कारोबारीलाई प्रतिबादी बनाइएको प्रजिअ पोखरेलले जानकारी दिए ।