काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आइतबार (आज) हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी कार्यविधि ,२०८० अनुसार अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागिता जनाएका १४ उपकुलपति उम्मेदवारहरूको अन्तर्वार्ता ‘दुई सिफ्ट’ मा लिइनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार बिहान ८ बजेर ३० मिनेटको ‘सिफ्ट’ मा कुसुम शाक्य, केशरजंग बराल, गोबिन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडयाल, टंकनाथ धमला, तीर्थराज खनियाँ रहेका छन् । त्यस्तै ११ बजेको सिफ्टमा नारायण प्रसाद बेल्वासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापा रहेका छन् ।
त्रिविको उपकुलपतिको लागि दुई महिलासहित ४३ जनाले आवेदन दिएका थिए । सो मध्ये एक महिलासहित १४ जनाको नाम अल्पसूचीमा परेको हो । ‘अल्पसूचीमा परेका उपकुलपति उम्मेदवारहरुको सोचपत्र र व्यावसायिक कार्यपत्र प्रस्तुतीकरण सकियो, अब सिफारिस समितिले देशका वरिष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अध्ययन अनुसन्धान गरि ख्याति कमाएका लब्धप्रतिष्ठित शिक्षाविद्हरूबाट उपसमिति बनाएर अन्तरवार्ता लिने टोली छनौट गर्ने काम अघि बढाएको छ,’ प्रवक्ता सापकोटाले भने । उनका अनुसार अल्पसूचीमा परेका उम्मेदवारहरुको अन्तर्वार्ता विज्ञहरुको टोलीले लिनेछ ।