रुपा थापा/पाल्पा : पाल्पाको तानसेनमा कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार तानसेन महोत्सव २०८० हुँदैछ । तानसेन नगरपालिकाले फागुन १९ गतेदेखि २८ गतेसम्म टुडीखेलमा महोत्सव गर्न लागेको हो ।
जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, पर्यटन तथा धार्मिक कला संस्कृतिको प्रचार प्रसारका लागि महोत्सव गर्न लागिएको हो । आइतबार आयोजित पत्रकार भेटघाटमा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले प्रथम ऐतिहासिक महोत्सव भव्य रुपमा सफल पार्न व्यापक तयारी गरिएको जानकारी दिए ।
नगर प्रमुख श्रेष्ठले महोत्सवमा विभिन्न प्रदर्शनी, साांस्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद,तथा मनोरञ्जनात्मक क्रियाक्लाप समावेश गरिएको बताए । महोत्सव सम्पन्न गर्न विभिन्न समिति तथा उप समितिहरु गठन गरिसकिएको समेत उनले जनाए ।
नगर प्रमुख श्रेष्ठका अनुुसार महोत्सवमा विभिन्न औद्योगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी प्रवद्र्धन, लगानीका अवसर सिर्जना, आकर्षण गर्ने लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन, साना उद्यमी एवं व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु, विद्यालय तथा स्वास्थ्य संस्थाहरुको सेवा लगायतका सेवा बारे विषयगत प्रर्दशनी गरिनेछ ।
वितरित प्रेस विज्ञप्ती अनुसार तीन सय बढी स्टल रहने महोत्सवको तीन लाखले अवलोकन गर्ने, १० करोडको कारोबार हुने र ६१ लाख राजश्व बचत हुने विश्वास गरिएको छ ।
महोत्सव स्टलमा प्रवेश गर्न साधारणका लागि टिकट ७० रुपैया, विद्यार्थीका लागि ५० रुपैया र जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।