काठमाडौं : पार्टीले आगामी चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा काँग्रेसका जिल्ला सभापति नै दुई कित्तामा उभिएका छन् । ललितपुरको गोदावरीमा चलिरहेको महासमिति बैठकमा कांग्रेस जिल्ला सभापति चुनावी गठबन्धन गर्ने वा नगर्ने विषयमा दुई कित्तामा उभिएका हुन् ।
बैठकमा एकथरी सभापतिले रणनीतिक बिषय भएकाले महासमितिले कुनै निर्णय लिन नहुने बताएका छन् भने अर्काथरीले गठबन्धन नगर्ने प्रस्ताव पारित गर्नुपर्ने धारणा राखेका छन् । नेपाली काँग्रेस झापाका सभापति देउमान थेवेले गठबन्धनको कुरा अहिले उठान गर्नु अप्रासांगिक हुने बताएका थिए ।
गठबन्धनको विषय २०८३ सालतिर गर्नु उपयुक्त हुने धारणा राखे । उनले भने, ‘गठबन्धनका विषयमा अहिले हतार गर्न आवश्यक छैन, यसले इलाममा उपनिर्वाचन हुँदैछ, त्यहाँ पनि असर गर्छ, गठबन्धनकै कारण ७ प्रदेशमा सरकारमा छौं ।’
काँग्रेस धनुषाका सभापति योगेन्द्र पन्जियारले गठबन्धनका कारण मधेशमा कांग्रेस कमजोर भएको जिकिर गरे । गठबन्धन नगर्नेबारे महासमिति बैठकले प्रष्ट निर्णय लिन समेत माग गरेका थिए । उनले भने, ‘गठबन्धनले सत्ता त प्राप्त होला, तत्कालीन लाभ हुनसक्छ, तर पार्टी बन्दैन ।’ यस्तै काँग्रेस स्याङ्जाका सभापति राजु थापाले जनताको म्याण्डेट अनुसार गठबन्धन गरिएको बताए । चार वर्षपछि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय अहिले नै निर्णय गर्नुपर्छ भन्नु उपयुक्त नभएको बताए ।
यस्तै कैलाली सभापति नारायणदत्त भट्टले गठबन्धन नगर्ने या नगर्ने भन्ने निर्णय अहिले नै गर्ने समय नभएको बताए । यसैगरी सुनसरी सभापति केदार भण्डारीले आफ्नो स्वार्थ अनुकुल गठबन्धन ठिक र बेठिक भन्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए ।