डा. शिवराज सुवेदी
हामीले स्वास्थ्यको लागि अपनाउनुपर्ने दैनिक गतिविधिलाई आयुर्वेदमा दिनचर्या भनिएको छ । सामान्यतया एक दिन भन्नाले विहान सूर्योदय देखि भोलीपल्टको सूर्योदय सम्मको २४ घण्टाको समयलाई बुझ्ने गरिन्छ । आयुर्वेदमा यस अवधिलाई अहोरात्र भनिएको छ ।
दिन सत्कार्यका लागि भएकोले यो कर्म/कामको अपेक्षा राख्दछ, भने रात आरामको लागि हो । आयुर्वेदिय स्वास्थ्यको लागि दिनमा आहार-विहार र आचार, विचार, रसायन-अनुशासनको व्यवस्था गरिएको हुन्छ भने बस्नु र रातमा आराम नगर्नु स्वास्थ्यका प्रतिकूल आचरण हुन भन्ने कुरा आयुर्वेदले निश्चित गरेको छ ।
- मानिसले बिहान उठेदेखि बेलुका सुत्ने बेला सम्मअसल स्वास्थ्यका लागि गर्नुपर्ने आहार, विचार, सदाचार, क्रियाकलापहरुलाई दिनचर्या ‘दिने-दिने चर्या दिनचर्या’ (अव्यङ्ग हृदय २/१)
- मानिसले आरामका लागि निन्द्राको पर्याप्त सेवन लगायत रात्री जीवनका स्वस्थकर आचार र व्यवहारको उचित व्यवस्थापन गुर्न र शरीरलाई पूर्ण आरामदायी अवस्थामा पुर्याउनुलाई रात्रीचर्या भनिन्छ ।
दिनचर्याको उद्देश्य :
- स्वास्थ्य रक्षार्थको लागि आयु वृद्धि
- इन्द्रिय र मन प्रशन्न
- बल प्राप्ती
- मनमा शान्ती, शुद्धता
- नियमित शरिरले निकाल्ने स्वभाविक मलहरुको उत्सर्ग
- अनुशासन प्राप्ती र मानसिक स्वास्थ्यलाभ आदी ।
१. व्रहम मुहुर्तमा उठ्ने :
ब्रहम-ज्ञान, मुहुर्त समय (ज्ञान प्राप्तीको उत्तम समय) आयुर्वेद स्वास्थ्यले विहान उठ्ने समयलाई ब्रहम मुहुर्त भनेको छ । यो समय सुर्योदय हुनुभन्दा चार घडी अर्थात झण्डै दुई घण्टा (१ घण्टा-३६ मिनेट) पहिलेको समय हो । यो समयलाई अमृत-बेलापनि भनिएको छ । अतः यो समयमा व्युझिएर उठ्ने व्यक्तिले अमृत या सर्बोत्तम स्वास्थ्यका लागि चाहिने प्राण तत्व (अक्सिजन लगायत) पाउँछ ।
- ब्रहममुहुर्तमा सुत्ने व्यक्तिका लागि यो स्वर्णीम स्वास्थ्यकर प्रकृति पदत्त अमृत गुम्दछ । साथै यस समयलाई ज्ञान एवम् तप साधनाका लागि पनि सर्वोत्तम मानिएको छ । यस बेलामा गरिएका अध्ययन र पठन–पाठन लामो समयसम्म रहिरहने र दिनको तुलनामा थोरै समयमा धेरै ज्ञान आर्जन हुने कुरा ैज्ञानिकहरुले सिद्ध गरिदिएका छन् ।
त्यसैगरी यो समयमा गरिएका सत्कर्म एवम् पुण्य कर्म सवै सार्थक र फलदायी हुन्छन् । यसैले ज्ञानी ऋषिमुनिहरु यही समयलाई आफ्नो जप÷तप र योग साधनाका लागि उपयोग गर्दछौं ।
२. आचमन/जलपान/उषापान :
यो उषाकालमा पिउने पानी हो । अघिल्लो दिनमा/वेलुका तामाको भाँडोमा राखिएको पानी भोलिपल्ट पिउनुपर्छ ।
फाईदा : पाचन प्रणाली नियमित रहन्छ । मल अवरोध हुदैन । अनुहारमा चाउरी समयपूर्व आउनबाट जोगिन्छ । रोग प्रतिरोधात्मक शक्तिको वृद्धि हुन्छ ।
३. आचमन/जलपान/उषापान : मल मूत्रको त्याग/मल मूत्र विसिर्जन :
- मल मूत्र आदिको त्याग विहानको नित्यकर्म मध्ये मूख्य काम हो । यही कामलाई नियमित गर्न सकियो भने हाम्रो स्वास्थ्य धेरै राम्रो हुन्छ । तर नियमित गर्ने नाउमा वलपूर्वक मल त्याग गर्नु पनि उचित हुदैन । प्राकृतिक वेगको प्रतीक्षा गरी वेग आएपछि मात्र यत्नपूर्वक मलमूत्रको विसर्जन गर्नुपर्दछ ।
- मलमूत्र त्याग गर्दा बोल्नु हुँदैन साथै खुला स्थान, पत्रपत्रिका, मोवाइल जस्ता कार्यहरु गर्नु हुदैन । वरु आफ्नो शरीरमा जम्मा भएको र विकारको त्याग भईरहेको सुखद अनुभूतिमा मनलाई एकाग्र तुल्याउनुपर्छ ।
४. दन्तधावन/जिहवानिर्लेखन : (दाँत सफागर्ने र जीव्रो सफा)
आयुर्वेदमा दाँतको सफाईलाई निकै महत्व दिइएको छ । नीम, वलुल, करज्ज, दतिवन आदिको सफा हरियो र नरम डाँठलाई आफ्नै दाँतले चपाएर व्रस जस्तै नरम बनाईएको जडीबुटी ब्रसले दाँतको भित्रबाहिर र तलमाथि गरी दाँत माझ्ने कार्यलाई आयुर्वेदमा दन्तधावन/दन्तमंजन या दन्तपवन भनिन्छ ।
फाईदा : दाँत स्वच्छ एवम् मजवुत हुन्छन् । मुखको दुर्गन्धएवम् विषाक्तता नष्ट हुन्छ । जीब्रो स्वच्छ र सफा रहन्छ । स्वादको ज्ञान राम्रो सँग हुन्छ ।
५. नव्य/प्रतिमर्श :
आयुर्वेदमा नाकलाई शिरको द्धारको रुपमालिईन्छ । ‘नाशा हिं शिरशो द्धारम’
प्रतिदिन २ थोपा तिलको तेल नाकमा हाल्नाले आरोग्य, र विशेष गरी आँखा, नाक, कान, घाँटी, र पोतो नवस्ने प्रभाव देखाउँछ । नव्यले राम्रो निद्रा पर्दछ ।
- खाना खाएपछि, पानी पिउने वित्तिकै, मद्यपान गरेको अवस्थामा, नयाँ रुघाखोकी लागेको बेलामा, गर्भावस्था र सुत्केरी अवस्थामा गर्नु हुदैन र चिकित्सकको प्रत्यन निगरानीमा गर्नु पर्दछ ।
६. गण्डुस/कवल
दाँत, जिव्रो, घाँटी लगायत समस्त मुखको स्वास्थ्यका लागि आयुर्वेदिले गण्डुस र कवल गरी २ थरीका मुखरोग नाशक, मुख शुद्धि कारक कुल्लागर्ने विधी बताइएको छ ।
- तिलको तेल, त्रिफलाक्वाथ/कादा, नुनपानी तथा आवश्यकता अनुसार अन्यऔषधी र जडीवुटीको घोललाई गण्डुस र कवल धारणका लागिलिन सकिन्छ । गर्मीमा चिसो र जाडोमा तातो पानीले मुख प्रच्हाल नगर्ने । माथिका विधिहरुको गिजा, दाँत, मुुटु, फोक्सो, मधुमेह, मुख गन्हाउने आदि रोगमा फाइदा गर्दछन् ।
७. योग, ध्यान, व्यायाम : शरीरको आवश्यकता अनुसार योग, ध्यान तथा व्यायाम गर्न सकिन्छ । अवसाद, तनाव, चिन्ता, दुखाई मोटोपना अनिद्रा, थकान आलस्यता, दिर्घरोग, स्मृति वर्धक आदिका फाइदा
८. अम्यङ्ग :
विभिन्न तेलको प्रयोग गरेर शरीरमाविशेष दवाव दिएर गरिने मालिसको विजीलाई अम्यङ्ग भनिन्छ । अम्यङ्ग गर्नाले त्वचा/छाला, नसा, जोर्नी मांसपेशी लगायत शरीरका अङ्ग, अवयव वलिया हुन्छन् । शारीरिक मानसिक रुपमा फुर्तिलो बनाउँछ । थकाई, दुखाई, कम गर्छ । आँखाको दृष्टिशक्ति बढाँउछ त्वचा शुद्ध हुन्छ । वर्ण सुन्दर र प्राकृत हुन्छ । निद्रा राम्रो लाग्छ ।
९. उद्धर्तन उवटन : शरीरको र छालाको आवश्यकता अनुसार शीतलताको लागि उद्धर्तनमा चन्दन र उण्ठाताको लागि अगरु (अगर) ले गर्ने सकिन्छ ।
१०. स्नान : आयुर्वेदमा स्नानलाई अत्यन्त महत्वपूर्ण मानिएको छ । अम्यङ्ग र उद्धर्तन पछि स्नान अनिवार्य छ ।
( स्नानले गर्मी, दुर्गन्ध पसिना चिलाउने तथातीर्खा हटाउने, रोगप्रति रोधात्मक क्षमता, वलवायु जाठराग्नी (पाचनशक्ति) बढाउछ । शीर चिसो पानीले तथा शरीर तातो पानीले स्नान गर्ने ।
११. भोजनग्रहण : शरीर निमार्ण गर्न, शरीरलाई शक्ति प्रदान गर्न र रोग प्रतिरोध क्षमता विकास गर्न, आफ्नो प्रकृति, अग्नि, वल, देश, काल र आहारको गुण आदि विचार गरी आहार सेवन गर्नुपर्दछ । आमाशयको ४ भागमा-२ भागखाना, १ भागपानी र १ भागखाली हुनुपर्छ ।
१२. वस्त्र आभुषण : वस्त्र/कपडा, आभुषण, जुत्ता आदी शरीरको रक्षाको लागि हुन । यी सबै शरीर र स्वास्थ्यको लागि अनुकूल हुनुपर्छ ।
१३. जिविका/व्यवसाय : आ-आफ्नो योग्यता वा आर्जन अनुसार परिवार र समाजको हितहुने गरी लोभ-लालच होइन कर्तव्य पुरा गर्ने शुभ-आशयका साथ शरीर र स्वास्थ्यको अनुकूल हुने जिविका/व्यवसाय रोज्नुपर्छ ।
१४. रात्रीचर्या : रातीको ९-१० वजेभित्रशौच आदि बाट निवृत भई ओछ्यानमा जाने र वुवाआमा, गुरु तथा आफ्नो आस्था रहेका ईश्वरलाई सम्मान पूर्वक स्मरण गरी उपयुक्त आसनमा देव्रे (वाया) कोल्टो परेर प्रसन्न मनले ७-८ घण्टा गहिरो निद्रा हुनेगरी निदाउने ।
आयुर्वेद ले रात्रीचर्यालाई शयन वा निद्राका लागि छुट्याएको हो । दिनभरीको काम, आहार, विहार, विचार, व्यायाम, व्यवसाय र श्रम आदिका कारणले थकित भएका शारीरिक संयन्त्रलाई पर्याप्त आराम दिएर पुनः दुरुस्त र ताजा बनाउनु निद्राको उद्देश्य हो ।
यसरी आयुर्वेद स्वास्थ्यमा दिनचर्या तथा रात्रीचर्याको महत्व प्रष्ट हुन्छ ।
(लेखक डा. सुवेदी बाँके आयुर्वेद स्वास्थ्य केन्द्र, नेपालगन्ज बाँकेका आयुर्वेद चिकित्सक हुन् )